बुटवल, (नेस) ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका प्रमुख सडक तथा चोकमा निःशुल्क कोरोना संक्रमण परीक्षण शुरू गरेको छ । लकडाउन खुकुलो भए पनि कोरोना संक्रमणको जोखिम कायमैं रहेको भन्दै नगरपालिकाले संक्रमणको चेन ब्रेक गर्न कोरोना परीक्षणलाई समुदायस्तरमा केन्द्रित गरेको हो । ‘सडक एन्टिजन टेस्ट’ नाम दिइएको कोरोना परीक्षण कार्यक्रमको मणिग्राम चोकमा सुभारम्भ गर्दै नगर प्रमुख वासुदेव घिमिरेले कोरोना महामारी पूर्णतः नहटेकाले सचेतना अपनाउन नगरबासीलाई अनुरोध गर्नुभयो ।
व्यक्तिको हेलचेक्रयाइँले समुदायमा पुनः महामारी फैलन सक्नेप्रति सचेत गराउँदै नगर प्रमुख घिमिरेले दैनिक कार्य सम्पादनमा स्वास्थ्य सुरक्षा मापदण्ड परिपालनामा जोड दिनुभयो । यसअघि, प्रत्येक वडामा कोरोना परीक्षण गरेको तिलोत्तमा नगरपालिकाले बुधबारबाट सडकमैं एन्टिजन परीक्षण शुरू गरेको हो ।
कोरोना फोकल पर्सन केशव भट्टराईले क्रमशः नगरका प्रमुख सडक चोकहरूमा एन्टिजिन परीक्षण गरिने जानकारी दिनुभयो । बुधबारको परीक्षणमा एक सय १४ जनाको नमुना संकलन गर्दा १३ जनामा कोरोना देखिएको थियो । सडकमा हिँडेकाहरू मध्येबाट नमुनाको रूपमा कृषक, व्यवसायी, विद्यार्थी, गृहिणी, चालक सहचालकलगायतको कोरोना परीक्षण गरिएको थियो । एन्टिजेन परीक्षणबाट व्यक्तिमा कोरोना संक्रमण भएको वा नभएको तत्काल थाहा हुन्छ ।
पछिल्लो समय समुदायस्तरमा परीक्षण कम हुँदा संक्रमण घटेको हुन सक्ने आशंका भैरहँदा तिलोत्तमाले परीक्षणलाई समुदायस्तरमा केन्द्रित गरेको हो । यो परीक्षणले नगरपालिकामा कोरोना संक्रमणको वास्तविक अवस्था बाहिर ल्याउने र यसबाट महामारी नियन्त्रणका लागि आवश्यक थप योजना बनाउन सकिने नगरपालिकाका कोरोना फोकल पर्सन भट्टराईले बताउनुभयो ।
प्रतिक्रिया