छोटो फिल्मको स्पर्धा हुने


राष्ट्रिय युवा संघ नेपालले म केही गर्छु शीर्षकमा लघु फिल्म प्रतियोगिता एनवाईएफ सर्ट फिल्म कम्पिसन २०७८ आयोजना गर्ने भएको छ।कोरोना महामारी जोखिमको न्यूनीकरण गर्न लगाइएको लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाएका युवाको समय सदुपयोग तथा प्रोडक्टिभ इन्गेजमेन्टसँगै युवाको प्रतिभा पहिचान, प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोेजना गरिने प्रतियोगितामा जोकोही नेपालीले सहभागिता जनाउन सक्नेछन्।

प्रतियोगितामा उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन लगायतका विषयमा केन्द्रित रही बढीमा पाँच मिनेटसम्मको फिल्म बनाउनुपर्ने आयोजनक जनाएका छन्। प्रतियोगीले शुरूमा म केही गर्छु भन्ने विषयमा केन्द्रित रही आगामी असार २५ सम्म स्क्रिप्ट बुझाउनुपर्ने प्रावधान राखिएको छ।

सहभागी फिल्ममध्ये पहिलो, दास्रो र तेस्रो हुने फिल्मलाई क्रमशः २ लाख ५० हजार, १ लाख ५० हजार र १ लाख रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन्।नेपाल फिल्म एकेडेमी सहआयोजक रहने प्रतियोगिता आम युवा सरोकार र चासोका विषय सम्बोधन गर्ने उद्देश्यले आयोजना गर्न लागिएका संघका अध्यक्ष किरण पौडेलले बताए।