बिली भाइरल भिडियोले हैरान


अमेरिकन गायिका बिली इलिश आफ्नो एक पुरानो भिडियो भाइरल भएपछि यतिबेला विवादमा छिन्।एसियन मानिसहरूलाई लिएर आपत्तिजनक टिप्पणी गरिएको उक्त भिडियोमा उनी एसियाली मानिसहरूको मजाक उडाइरहेकी देखिन्छन्। उनको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनका प्यानहरूले उक्त भिडियोबारे बोल्न आग्रह गरेका थिए भने धेरैले उनलाई गाली गरेका छन्। केही वर्ष पुरानो उक्त भिडियोलाई लिएर बिलीले सामाजिक सञ्जालमा माफीसमेत माग्नुपरेको छ।

बिलीले हालै सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा लामो पोस्ट लेख्दै माफी मागेकी छिन्— ‘म तपाईंहरू सबैसँग माफी माग्न चाहन्छु। तपाईंहरू धेरैले मलाई यस मामलामा सोधिरहनुभएको छ। तर, मलाई कुनै लेनदेन नै नभएको मुद्दामा जोडिएको छ। एक सम्पादित भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त समयमा म १३-१४ वर्षको मात्र थिएँ, मैले एउटा गीतको एक शब्द प्रयोग गरेको थिएँ। तर, मलाई त्यसको अर्थ गलत हुन्छ भन्ने थाहा थिएन।

मैले त्यो शब्द पहिले कहिल्यै सुनेकी थिइन र मेरो परिवारका सदस्यले पनि त्यो शब्द प्रयोग गरेका थिएनन्। हो म त्यो भिडियोमा ठूलो—ठूलो स्वरमा उक्त शब्द बोलेको छु, तर मैले कसैलाई जिस्क्याएर त्यसरी बोलेको होइन। म पारिवारिक सदस्य र आफ्नो पाल्तु जनावरसँग त्यसरी बोल्छु। मलाई पछि थाहा भयो उक्त शब्दले धेरै मानिसहरूलाई नराम्रो लाग्छ त्यसको लागि म माफी माग्छु।’ उनले लेखेकी छिन्।चार वर्षकै उमेरमा गीत लेखेकी र हाल १९ वर्षको रहेकी बिलीले ८ वर्षको उमेरदेखि सांगीतिक प्रतिस्पर्धामा भाग लिन थालेकी थिइन्। उनी बिली जेम्स बन्ड सिरिजको थिम गीत लेख्ने तथा गाउने सबैभन्दा कम उमेरकी गायिका हुन्।