रहिनन् लिजा बेन्स


हलिउड फिल्म गोन गर्ल स्टार लिजा बेन्सको निधन भएको छ। करिब डेढ हप्ताअघि भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएपछि अस्पताल भर्ना गरिएको उनको ६५ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको न्युयोर्क प्रहरीले जनाएको बिबिसीमा प्रकाशित समाचारमा जनाइएको छ।

जुन ४ मा न्युयोर्कको म्यान्हन्टमा हिट एन्ड रन दुर्घटनापछि उपचाररत उनको निधनको पुष्टि उनको प्रतिनिधिले पनि गरेका छन्। न्युयोर्कको सडकमा बाटो काटिरहेको बेला एक स्कुटरले लिजालाई ठक्कर दिएपछि उनको टाउकोमा गहिरो चोट लागेको थियो। घटनास्थलमा प्रहरी पुग्दा उक्त व्यक्ति फरार भएको समाचारमा जनाइएको छ।

प्रहरीले उक्त हिट एन्ड रन मामलाका फरार व्यक्तिको बारेमा हालसम्म कुनै पत्ता लगाउन नसकेको समाचारमा जनाएको छ। थुप्रै फिल्म तथा टेलिभिजन सिरिजहरुमा काम गरेकी उनले गोन गर्ल तथा अभिनेता टम क्रुजका साथ अभिनय गरेको फिल्म कक्टेलमार्फत विशेष लोकप्रियता हासिल गरेकी थिइन्।