को–भ्याक्सिन परीक्षणका लागि बालबालिकाको स्क्रिनिङ गरिने



इन्डिया न्युज नेटवर्क । 

अखिल भारतीय मेडिकल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स ) दिल्लीले सोमबारदेखि भारत निर्मित कोविड १९ भ्याक्सिन को–भ्याक्सिनको क्लिनिकल परीक्षणको लागि बालबालिकाको स्क्रिनिङ शुरू गर्ने अपेक्षा गरिएको छ ।यस परीक्षण कार्यका लागि एम्स दिल्लीले ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीजीसीआई)बाट अनुमति लिएको थियो ।मे १२ मा विषय विशेषज्ञ समिति (एसईसी) द्वारा सिफारिस भएपछि डीजीसीआईलाई यस परीक्षण का लागि अनुमोदन दिइएको थियो ।

गत साता एम्स पटनाले १२ देखि १८ वर्ष बीचका बालबालिकामा भारत बायोटेक खोपको लागि यस्तै परीक्षण सुरू गरेको थियो ।परीक्षणको लागि चयन गरिएका बालबालिकाले २८ दिनको अन्तरालमा खोपका दुई डोज प्राप्त गर्नेछन् । । त्यसपछि तिनीहरूमा खोपले कसरी काम गर्दछ भनेर अध्ययन गर्न विभिन्न मापदण्डअनुसार मूल्यांकन गरिनेछ ।भारतले यस वर्ष १६ जनवरीदेखि चरणबद्ध रूपमा विश्वको सबैभन्दा ठूलो खोप अभियान शुरू गरेको थियो । सर्वप्रथम अग्रमोर्चामा सेवारत स्वास्थ्यकर्मीहरूलाई खोप लगाइएको थियो ।

भारतले प्रयोगका लागि तीन प्रकारका कोभिड–१९ खोप अनुमोदन गरेको छ । तिनीहरू भारत बायोटेकको ‘को–भ्याक्सिन’, एस्ट्राजेनेकाको ‘कोभिसिल्ड’ र रसियाको ‘स्पुतनिक–भी’ हुन् ।को–भ्याक्सिन र कोभिसिल्ड भारतमा निर्माण भइरहेको छ । भारतमा स्पुतनिक–भीको निर्माण पनि अगस्टदेखि शुरू हुने अपेक्षा गरिएको छ ।यद्यपि, भारतमा अहिलेसम्म बालबालिकालाई खोप लगाउनका लागि अनुमोदन गरिएको छैन ।स्वास्थ्य नीति आयोग सदस्य बीके पालले गत महिना चरण २ र ३ को परीक्षण २ देखि १८ वर्ष बीचका बालबालिकामा गरिने जानकारी दिएका थिए ।

संयुक्त राज्य अमेरिका र क्यानाडाले फाइजर बायोएनटेकको खोपलाई केही उमेर समूहका बालबालिकाहरूमा प्रयोगका लागि स्वीकृति दिइसकेको छ । चीनले पनि ३ देखि १७ वर्ष बीचका बालबालिकाका लागि लागि चिनियाँ कम्पनी सिनोभ्याकद्वारा निर्मित कोभिड–१९ खोप आपतकालीन प्रयोगलाई अनुमोदन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्