चीनले अनुदानमा दिएको १५ सय थान अक्सिजन सिलिन्डर आइपुग्यो


सरस्वती न्यौपाने रसुवा ।

चीन सरकारले अनुदानस्वरूप दिएको १ हजार ५ सय अक्सिजन सिलिन्डर र मास्क केरूङबाट रसुवागढी नाका हुँदै मंगलबार नेपाल आइपुगेको छ ।रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार जेठ ७ गते १ हजार ५ सय थान अक्सिजन सिलिन्डर र मास्क बोकेका तीनवटा चिनियाँ गाडी शनिबार नेपाल आउने भनिएको भए पनि मंगलबार मात्र ती सामान नेपाल आइपुगेको हो ।

२०७१ सालदेखि अनौपचारिक रूपमा सञ्चालनमा आएको नाका दिनहुँ ३ सयको हाराहारीमा कन्टेर आवतजावत गर्दथे ।२०७४ साल भदौ १४ गते चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि व्यापार व्यवसाय बढ्दै गएको थियो ।उक्त सामग्री स्वास्थ्य मन्त्रालयको तर्फबाट स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बुझ्नुभएको छ । चिनियाँ गाडीमा आएको अक्सिजन सिलिन्डर र मास्क नेपाली गाडीमा लोड भइरहेको छ । उक्त सामग्री मंगलबार नै स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखामा पठाइने स्वास्थ्य कार्यालय रसुवाका प्रमुख चालिसेले बताउनुभयो ।

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर अनुदानमा दिने घोषणा गरेको भएता पनि त्यसमध्ये नेपाल वायुसेवा निगमको जहाजले दुई हजार सिलिन्डर बेइजिङबाट काठमाडौं लगिसकेको बताइएको छ । त्यसमध्ये स्थलमार्ग हुँदै रसुवागढी नाकाबाट उक्त सामग्री नेपाल भित्रिएको हो ।पछिल्लो समय रसुवागढी नाकाबाट व्यावसायीले मगाएका स्वास्थ्य सामग्री र चिनियाँ सहयोगका सामग्री नेपाल भित्रिरहेको छ । चीनले एक वर्ष अघिदेखि रसुवागढी नाका एकतर्फी रूपमा सञ्चालन गरेको छ ।