पुतली बजारमा शाहको स्मृतिसभा


स्याङ्जा, (नेस) ।

पञ्चायती शासकबाट मारिएका सहिद महेन्द्र शाहको ४२औं स्मृतिसभा गरिएको छ । नेपाली कांग्रेस पुतलीबजार नगरपालिका–१४ वडा कार्यालयको आयोजनामा स्मृतिसभा गरिएको हो । स्वतन्त्रता र प्रजातन्त्र प्राप्तिका लागि २०३६ सालमा भएको विद्यार्थी आन्दोलनमा जेठ १४ गते तत्कालीन पञ्चायती शासकको गोली लागेर सदरमुकाममा शाहको मृत्यु भएको थियो ।

सहिद शाहकोे पुतलीबजार नगरपालिका–१४ सतौंस्थित सहिद महेन्द्र शाह स्मृति पार्कमा रहेको अर्धकदको शालिकमा माल्यार्पणसहित स्मरण गर्दे मनाइएको छ । सतौं शाहको जन्मथलो पनि हो । कोरोनाका कारणसीमित व्यक्ति मात्र जम्मा भएर स्मृतिसभा मनाइएको छ । माल्यार्पणपछि सहिद शाहको स्मरण गर्दे कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले सहिद महेन्द्र शाहजस्ता निडर र सक्षम सपूतहरूको बलिदानीले प्राप्त लोकतन्त्रको रक्षार्थ लोकतन्त्रप्रेमी एकजुट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहिदका बुवा मेघबहादुर शाह, सहिद महेन्द्र शाह स्मृति प्रतिष्ठानका अध्यक्ष शेरबहादुर राना, तरुण दल जिल्ला उपाध्यक्ष रबिन के.सी., जनप्रतिनिधि विष्णुकुमार श्रेष्ठ लगायतले महेन्द्र शाहको जीवनी, संघर्ष र बलिदानीका बारेमा स्मरण गर्दै शाहले देखेका सपना साकार बनाउनुपर्नेमा जोड दिनुभयो । साविक चण्डीकालिका गाउँ पञ्यायत हाल पुतलीबजार नगरपालिका–१४ स्थित सतौंमा २०१८ सालमा जन्मेका शाह मेघबहादुर शाह र हीराकुमारी शाहका छोरा हुनुहुन्थ्यो ।