पर्वतमा एन्टिजेन कीटको अभाब


पर्वत

गाउँगाउँमा कोभिड महामारी फैलिइरहेका बेला पर्वतमा स्थानीयस्तरमै कोभिड परीक्षणका लागि उपयोगी मानिएको एण्टिजेन कीट अभाव भएको छ ।परीक्षण गरिएका करिब ५० प्रतिशतमा कोरोना पुष्टि भएपछि स्वास्थ्यकर्मी र स्थानीय पालिकाले बिरामीको पहिचान छिटो हुनुपर्ने माग गरेका छन् । यही मागसहित स्वास्थ्य कार्यालय तथा सबै पालिकाले जिल्लाको जनसंख्याको करिब एक तिहाइलाई पुग्ने एण्टिजेन कीट माग गरेको बताएका छन् ।

करिब ५० हजार कीट आवश्यक पर्नेमा बढीमा ३ सय ५० मात्रै कीट आएको स्वास्थ्य कार्यालयले बताएको छ । परीक्षण गरिएकामध्ये ४६-४७ प्रतिशतमा कोभिड देखिएको भन्दै स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत प्रवीण भण्डारीले संक्रमणको स्थिति हेर्दा कम्तीमा ५० हजार कीट चाहिएको बताउनुभयो । केही दिन पहिले ३५० कीट मात्रै आएको र केही क्षणमै सकिएको भण्डारीको भनाइ छ ।

स्वास्थ्य कार्यालयमा प्राप्त सबै कीट जिल्लाका सातओटा पालिकालाई ५० का दरले वितरण गरिसकिएको छ । पिसिआर मेसिन र जनशक्ति नभएकाले स्वाब परीक्षणका लागि पोखरा पठाउनुपर्ने बाध्यता छ । पठाइएका स्वाबको नतिजा समयमै नआउँदा लामो समय लकडाउन हुँदा पनि कन्ट्याक्ट ट्रेसिङ र बिरामीको उपचारमा समस्या भएको स्वास्थ्य कार्यालय प्रमुख डा भोजराज गौतमले बताउनुभयो ।एण्टिजेन कीटमार्फत गरिएको परीक्षण पिसिआर जत्तिकै भरपर्दो भएकाले यो छिटोछरितो परीक्षणको माध्यममा स्थानीय पालिकादेखि प्रदेश र केन्द्र सरकारले जोड दिनुपर्ने गौतमले सुझाव दिए । पालिकाहरूले पनि पीसीआर रिपोर्ट समयमै उपलब्ध गराउन वा एण्टिजेन कीट मागेअनुसार नै उपलब्ध गराउन प्रदेश र केन्द्र सरकारसँग माग गरेका छन् ।
समाप्त जेठ १६