संक्रमितलाई दिनहुँ अण्डा र मासु


हेटौंडा, (नेस) ।

मकवानपुर कुखुरा व्यवसायी संघले मकवानपुरका सबै आइसोलेसनमा रहेका संक्रमितलाई एक महिनासम्म हप्ताको दुई दिन मासु र दैनिक अण्डा उपलब्ध गराउन शुरू गरेको छ ।

दोस्रो चरणको कोरोना भाइरस संक्रमणका कारण आइसोलेसनमा रहेका संक्रमितहरूलाई पोषणतत्वको परिपूर्तिका लागि प्रतिव्यक्ति दैनिक दुईवटा अण्डा र हरेक शनिबार र बुधबार मासु उपलब्ध गराइने मकवानपुर कुखुरा व्यवसायी संघ अध्यक्ष गोकुलनाथ पौडेलले बताउनुभयो ।शनिबार मकवानपुर कुखुरा व्यवसायी संघ अध्यक्ष पौडेल, निवर्तमान अध्यक्ष राजु अधिकारी, वरिष्ठ उपाध्यक्ष जयराम अर्याल, कोषाध्यक्ष ऋषिराम दुलाल, महासचिव श्यामसुन्दर परियार, हेटौंडा–६ का वडाध्यक्ष अर्जुन चौलागाईं, निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रतिमा श्रेष्ठलगायतको उपस्थितिमा गौरीटार आइसोलेसनलाई ४२ क्रेट अण्डा र ७ किलो मासु उपलब्ध गराइएको छ ।

मासु र अण्डा एकैचोटि ल्याउँदा बिग्रने भएकोले आवश्यकताअनुसार उपलब्ध गराइने संघले जनाएको छ । पहिलो चरणको कोरोना संक्रमणको बेलामा पनि सबै आइसोलेसनमा एक महिनासम्म दैनिक अण्डा र हप्तामा दुई दिन मासु उपलब्ध गराएको संघले दोस्रो चरणको संक्रमणमा पनि उक्त कार्यलाई निरन्तरता दिएको हो ।