कोभिडले बिरानो बनायो गाउँघर



गणेश घिमिरे, इलाम

गाउँले जीवनको मौलिकता भनेकै अर्म–पर्म, सरसापटी र एचोपैंचो हो । प्रत्यक्षरूपमा भेट भएर सुख–दुःखका कुरा गर्ने, साह्रोगाह्रो पर्दा सरसहयोग गर्ने, गफिँदै चिया पिउने, घर–व्यवहार, छोराछोरीका कुरादेखि लिएर राजनीति हुँदै देश–विदेशका विषयमा समेत छलफल र कुराकानी गर्ने ग्रामीण जीवनको विशेषतामय सौन्दर्य अहिले खोसिएको छ ।

‘आफ्नै गाउँटोल नै बिरानो लाग्न थाल्यो, वल्लो–पल्लो घरमा रहेका दाजुभाइ, छरछिमेकीको हालखबर के छ भन्ने बुझ्न पनि फोन गर्नुपर्ने अवस्था आउन थाल्योे’, इलामनगरपालिका–७ का अनिल मैनाली भन्नुहुन्छ– ‘बाबुबाजेको पालामा पनि नसुनिएको र आफ्नो पालामा पहिलोपटक भोग्नुपरेको यो परिस्थितिको अन्त्य कहिले हुने होला खै ?’इलाम माइजोगमाई गाउँपालिका–३ नामसालिङकी लक्ष्मी लाप्चा घरबाट ननिस्किएको डेढ हप्ता भयो । स्वास्थ्यकर्मीसमेत रहेकी लक्ष्मी यतिखेरको विषम परिस्थितिमा अरू बिरामीको सेवा गर्ने समयमा आफैं कोरोना संक्रमित भएपछि घरभित्र थुनिएर बस्नुपर्दा निकै सकस भएको छ ।कोरोनाको खासै कुनै लक्षण नदेखिए पनि संक्रमित भएर कोठाभित्रै थुनिनु पर्दा बिरामी हुने अवस्था आएको उहाँको भनाइ छ । यस्तै, सामाजिक र राजनीतिक काममा निकै व्यस्त रहने गरेका नेपाली कांग्रेस इलामका युवा नेता फाकफोकथुम गाउँपालका एकतप्पाका लक्ष्मण राई पनि एकान्तवास बसेका हप्तादिन भइसकेको छ । कोरोनाको लक्षण देखिएपछि उहाँ आफ्नै घरमा एकान्तबास बस्नुपरेपछि राजनीतिक र सामाजिक काममा सरिक हुने अवस्था रहेन । गाउँमा दिनभर सामाजिक तथा राजनैतिक कामका साथै दिनभर घरको काममा व्यस्त रहने राईलाई एउटै कोठाभित्र बसिरहनुपर्दा पीडा थपिएको छ ।

लाप्चा र राई मात्र होइन अहिले इलामका सबै पालिकामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अधिकांश मानिस घरभित्रै छन् । दोस्रो लहरको नयाँ भेरियन्टसहितको कोरोना संक्रमणबाट जोगिन लामो समयसम्म घरभित्र नै सीमित रहनुपर्दा विभिन्न किसिमका समस्या आउने धेरैको भनाइ छ ।अहिलेको अवस्था बाध्यात्मक भएको र आफ्नै सुरक्षाका लागि यो सकस सहनुपरेको पनि उनीहरुलाई राम्रैसँग थाहा छ । ‘आफ्नै सुरक्षाका लागि हो, कोरोनाको औषधि भने पनि उपचार भने पनि यही सम्पर्कविहीन पद्धति रहेछ, त्यसैले पट्यार लागे पनि, अत्यास लागे पनि सुरक्षित त रहनु नै प¥यो’, माईजोगमाई गाउँपालिका–३ शुक्रबारे बजारका यामबहादुर काजीको भनाइ छ ।
अहिले इलामका दशवटै पालिकामा कोरोना संक्रमण भुसको आगो जस्तै गरी फैलिएको छ ।

इलाममा सोमबारसम्ममा ६ सय ५४ जना संक्रमित फेला परेका छन् भने १६ जनाको मृत्यु भइसकेको छ । माइजोगमाई गाउँपालिका वडा नम्बर ४ मा सोमबार ४७ जनाको पीसीआर परीक्षण गराउँदा २५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएपछि गाउँ–गाउँमा संक्रमण तीव्ररूपमा फैलिसकेको पुष्टि गरेको छ । समुदायस्तरमा कोरोना फैलिनुमा विवाह, व्रतबन्धलगायतका धार्मिक कार्य, मृत्यु संस्कार र ती कार्यमा हुने भीडभाड नै मुख्य कारण रहेको विज्ञहरूको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्