बिजुक्छेद्वारा नागरिकतासम्बन्धी अध्यादेशको विरोध


भक्तपुर, (नेस)

नेपाल मजदुर किसान पार्टीले सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशको विरोध गरेको छ । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले देशको नागरिकता सिनेमाको टिकटभन्दा सस्तो बनाउने कदमको नेमकिपाले विगतदेखि नै पनि संघर्ष गर्दै आएको बताउनुभयो । सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले त्यो संघर्ष आगामी दिनमा पनि जारी रहने बताउनुभएको छ ।

उहाँले भारतीय एकाधिकार पुँजी एक–एक पाइला गरेर नेपालमा नेपालीभन्दा विदेशी नागरिक बढाउने उद्देश्य पूरा गर्ने बाटोमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘कहिलेदेखि थाँती रहेको नागरिकता अध्यादेश अहिले आयो, अब अन्य पनि पक्ष र विपक्षलाई पालैपालो सत्तामा ल्याएर भारतीय एकाधिकार पुँजीले आफ्नो पोल्टामा पार्ने निश्चित छ ।’बिजुक्छेले सरकारका कामबाट एमालेलाई नेमकिपाले भन्दै आएको भाइ कांग्रेस भन्ने उपमा प्रस्ट हुँदै गएको बताउँदै नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नाम र रङ फरक भए पनि यी सबै दल वर्गीयरूपमा पुँजीवादी राजनीतिक दल नै भएको दाबी गर्नुभयो ।उहाँले नेका सभापति शेरबहादुर देउवा, एमाले नेता माधव नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत प्रधानमन्त्री बनेका नेताहरू पनि भारतीय एकाधिकार पुँजीले बनाएको त्यही बाटोमै रहेको प्रस्ट पार्नुभयो ।

ठगहरूले केटाकेटीलाई चक्लेट दिएर खुट्टाको कली र कानको गहना लगेजस्तै भारतीय एकाधिकार पुँजीले नेपाली पुँजीवादी दलहरूलाई सत्तामा ल्याउँदै हस्ताक्षर गराउँदै दल र नेताहरूलाई पत्रु बनाउँदै लगेको बिजुक्छेको भनाइ थियो ।नेमकिपाले निर्वाचनलाई उपयुक्त विकल्प भनेर केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारको समर्थनको नगरेको संकेत गर्दै उहाँले नेमकिपाले निर्वाचनको विरोध र स्वीकारको सर्त आफ्नो दल सरकारमा सहभागी हुने वा नहुने भन्ने दृष्टिले हेर्दैन भन्नुभयो ।

बरू निर्वाचनलाई पनि एक वर्गीय र राजनैतिक संघर्ष तथा आन्दोलनका रूपमा हेरेको बिजुक्छेले बताउनुभयो ।अध्यक्ष बिजुक्छेले सरकार र प्रमुख प्रतिपक्ष दल नेकालगायत माओवादी केन्द्र र एमालेबाट छुटेका माधव नेपाल–झलनाथ खनाल गुटले पनि कोरोनाको कहरमा आ–आफ्नो ठाउँबाट देश र जनताको सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।