कोरोना नियन्त्रणमा स्पेनको पाठ



रामकृष्ण पुडासैनी

देश कोरोनाको कहाली लाग्दो क्षणबाट आक्रान्त छ । खान नपाएर या अन्य कुराले भन्दा पनि सास फेर्ने हावाको कारणले नै मरिएला कि भन्ने सबैलाई लागिरहेको छ । प्राकृतिक रुपबाट सास फेर्न कठिनाइ हुँदा कृत्रिम प्रक्रियाबाट श्वासप्रश्वास प्रक्रियाका लागि चाहिने बन्द भाँडोभित्रको प्रेसरसहितको अक्सिजन अभाव हुँदा अहिले त्रासको वातावरण सृजना भएको छ । सिलिन्डरमा पाइने ती अक्सिजन निजी डिपो त परै जाओस्, सरकारी अस्पतालको समेत पहुँचबाट टाढा रहेको देखियो ।

सामान्य अवस्थामा सहजै निजी डिपोबाट पाइने ती अक्सिजन सिलिन्डरको माग अत्यधिक हुँदा निजी डिपो आपूर्ति सहज गर्न नसकी बन्दप्रायः छन् भने प्रसोधन गर्ने कारखाना÷प्लान्टमा प्रहरी प्रशासनको अघोषित नियन्त्रणमा रही वितरण गर्नुपरिरहेको अवस्था छ । अधिकांश जनमानसमा हालको अक्सिजन अभावले कोभिड बिरामीलाई मात्र असर गरेको भन्ने परे तापनि लामो समयदेखि कृत्रिम अक्सिजनमार्फत सहज सास फेरिरहेका अधिकांश दमका रोगी पनि यसको प्रत्यक्ष चपेटामा परेका छन् ।पछिल्ला केही दिनमा अक्सिजन सिलिन्डर खोजीको क्रममा अनेक प्रकारका अनुभव बटुलेका पीडितसँग साक्षात्कार भयो । देशकै ठूलो र पुरानो वीर अस्पतालका निर्देशकले आधिकारिक वितरकमार्फत भर्न पठाइएको अक्सिजन सिलिन्डर नेपाल प्रहरीका उच्च अधिकारीले शक्तिको दुरुपयोग गरी अन्तै लैजाँदा वीर अस्पतालको आईसीयुमा उपचार गराइरहेका बिरामी जीवन–मरणको स्थितिमा रहेको कुरा निर्देशकबाट नै सामाजिक सञ्जालमार्फत पुष्टि हुँदा हामी कुन अवस्थामा छौं भन्ने कुराको आँकलन गर्न सक्छौं ।

तत्पश्चात् अस्पतालले अक्सिजनको व्यवस्था आफैं गर्नू भनी आईसीयुमा उपचार गराइरहेका बिरामीका आफन्तलाई भन्दा चिनेजानेको अक्सिजन डिपोमा दौडिँदै, रोइकराइ गर्दै गरिरहेको दृश्य देखिन्थ्यो । अधिकांश निजी अस्पताललाई अक्सिजन सप्लाइ गर्ने एक प्लान्ट बिग्रिँदा अस्पतालमा अक्सिजन वितरण एक्कासि रोकिएको थियो भने नेपाल मेडिकल कलेजलगायतका अस्पतालले सोही दिनको ४ बजेसम्म मात्र सञ्चित अक्सिजनले पुग्ने र सो समय अवधिपश्चात् बिरामीलाई चाहिने अक्सिजन सिलिन्डरको व्यवस्था अस्पतालले गर्न नसक्ने तथा अस्पताल जवाफदेही नहुने व्यहोराको सूचना निकालेका थिए ।काठमाडौंका अधिकांश साना निजी अस्पतालले कोरोनाका बिरामी भर्ना लिन नसकिने सूचना निकालेका थिए । काठमाडौं उपत्यकाका अस्पतालमा कोभिड संक्रमितले भर्ना पाउन असम्भव प्रायः भएको थियो र अहिले पनि त्यस्तै छ । कुनै पनि अस्पतालले भर्ना लिन मानिरहेका छैनन् । पहुँचवालाको मात्र भर्ना लिइयो, हामीलाई भर्ना लिएन भन्दै रुँदै ठेलागाडामा बिरामी एउटा अस्पतालबाट अर्कोमा सोध्दै हिँडिरहेको दृश्य दोहोरिरहेका थिए । यस्तै अस्पतालको बेड खोज्दै या कुर्दै गर्दा प्राण उडेकाहरुका आफन्तको क्रन्दन सबै अस्पतालको बाहिर देखिन्थ्यो ।

प्रतिकूल अवस्थामा पनि देशका अक्सिजन प्लान्टले सम्भव भएसम्म अक्सिजन भर्ने काम गरिरहेका छन् । अत्यधिक माग रहँदा आफ्नै कम्पनीका सिलिन्डर मात्र भर्ने प्लान्ट एकातिर छन् भने यस आपतकालीन घडीमा बिरामीलाई अक्सिजन अभाव नहोस् भनी जुनसुकै कम्पनीका सिलिन्डर भए पनि प्रतिव्यक्ति बढीमा दुईवटा भरेर दिइरहेको दृश्य केही दिनअघि लुभुमा अवस्थित सोपान अक्सिजन प्लान्टमा देखिएको थियो । भर्न जानेको संख्या अत्यधिक भएकाले एउटा सिलिन्डर भराउन ३ घण्टाभन्दा बढी लागेको थियो । यथाशक्य चाँडो होस् भनी सोपानका कर्मचारीको दौडधुप प्रत्यक्ष देखिन्थ्यो ।देशको यस कहाली लाग्दो अवस्थामा समेत केही व्यक्ति भने सामाजिक सञ्जालमा फेसबुके सेलिब्रिटी बन्न होला शायद अक्सिजन चाहिएमा हामीलाई सम्पर्क राख्नुहोस् भनी फोन नम्बरसहितको प्रचार गरिरहेका थिए । भेटिएका ती अधिकांश नम्बर बन्द रहेका तथा नउठ्ने अनि उठिहालेमा पनि अक्सिजन छैन भन्दै राखेको बताउँदै गोठाटार निवासी शंकर रिजालले आक्रोश पोखेका थिए । अक्सिजन उपलब्ध गराउने भनी आफ्नो नाम र नम्बर प्रचार गर्दा सामाजिक सञ्जालमा हाई–हाई कमाउने तर यथार्थमा ती कसैले पनि फोनसमेत नउठाएको पेप्सिकोलाका कुलमणि गौतमले पनि आक्रोशसहितको गुनासो राखेका थिए ।

मस्कट, चाइना आदि स्थानबाट केही हजार सिलिन्डर नेपाल भित्रिएको हुँदा आगामी केही दिनबाट अक्सिजन वितरण सहज हुने आँकलन गरिएको छ । तर, सरकारमा रहेका व्यक्तिहरु जो बारम्बार पीसीआर परीक्षण गर्न र अन्य स्वास्थ्य सुविधा लिन सक्छन्, उनीहरुले आम नेपालीको मर्म बुझ्न सक्तैनन् । आफ्ना पिताको स्वास्थ्य अवस्थाका कारण स्पेनको बसोबासो छोडेर केही समयका लागि काठमाडौं आएको यस पंक्तिकार यस्तो भुक्तभोगी हो, जसले अक्सिजन ग्यास र ओखतीको व्यवस्था मिलाउन कति महाभारत छ भन्ने बुझेको छ । आमरुपमा बुझिएको भन्दा निकै जटिल र कठिन अवस्थाबाट नेपाली गुज्रिरहेका छन् । मृत्यु र संक्रमणका जति घटना बाहिर आएका छन्, त्योभन्दा निकै गम्भीर अवस्था भोगिरहेका छन् नागरिकले । यस्तो अवस्थामा कोभिड संक्रमणको नियन्त्रणका लागि स्पेनको अनुभव नेपालका लागि उपयोगी हुन सक्छ । स्पेनमा देखे–भोगेको सन्दर्भलाई पंक्तिकार यहाँ बुँदात्मकरुपमा प्रस्तुत गर्दै सुझाव दिन चाहन्छ ।

१. टुँडिखेल, दशरथ रंगशाला, ठूला स्कुल–कलेजजस्ता खुल्ला ठाउँमा कम्तीमा १५०० बेड क्षमताको अस्थायी कोभिड अस्पताल बनाउने ।

२. अति संक्रमित, संक्रमित र ठीक हुँदै गरेका गरी ३ भागमा बिरामीलाई वर्गीकरण गरी अलग–अलग अस्पतालमा राख्ने ।

३. विनापर्यटक बन्द रहेका सम्पूर्ण २ तारेमाथिका होटेललाई खर्च सरकारले तिर्ने गरी क्वारेन्टाइन गृह बनाउने, बिरामीसँग प्रत्यक्ष सरोकार राख्ने डाक्टर, नर्स र एम्बुलेन्सकर्मी, स्वास्थ्य एवम् सफाइकर्मीलाई त्यहीँ राख्ने ।

४. सम्पूर्ण अक्सिजन प्लान्टलाई सेनाको मातहतमा वैज्ञानिक प्रणालीबाट अस्पताल, डिपो र बिरामी स्वयंलाई अभाव नहुने गरी वितरण गर्ने व्यवस्था मिलाउने, संग्रह गरेर राख्नेलाई कडा कारबाही गर्ने ।

५. कम्तीमा २१ दिनलाई देशभर कफ्र्युसरह कडा लकडाउन गर्ने, अटेरी गर्नेलाई नगद जरिबाना र जेल सजायसमेत तोक्ने । अति आवश्यक सेवाबाहेक सबै पूर्णरुपमा बन्द गर्ने । कुकुर डुलाउने, पानी भर्ने, खाद्यान्न किनमेल अनि अनिवार्य हिँडडुल गर्नुपर्ने बिरामीलाई दैनिक बिहान र बेलुका एक घण्टा तोक्ने ।

६. गाउँ फर्कन चाहनेलाई प्रहरीमार्फत विनाभीडभाड फर्कने व्यवस्था मिलाउने, बिहे आदि कार्यक्रम बन्द गराउने, नियमन गरी अटेरी गर्नेलाई कडा कारबाही गर्ने ।

७. बाहिर निस्कन नसक्ने, नमिल्ने, असहाय, गरिब–दुःखी वा संक्रमित व्यक्ति वा परिवारलाई स्थानीय वडा कार्यालयमार्फत स्वयंसेवक टोली बनाई निश्चित परिधि र प्रणालीभित्र रहेर सहयोग गर्ने ।

८. संक्रमण कालीन यस अवस्थामा कुनै पनि घरबेटीले घरबाट निकाल्न नपाउने, भाडा मिनाहा गर्ने अवस्था नरहेमा स्थानीय निकायले ग्यारेन्टी बसी केही महिनाभित्र तिर्दा हुने गरी व्यवस्था मिलाउने ।

९. अति आवश्यक मेडिकल, खाद्यान पसल, सफाइ सामग्री पसलबाहेक सबै बन्द राख्ने, नियमन गरी खुलेको पाइएमा कडा कारबाही गर्ने, होम डेलिभरी मात्र गर्न मिल्ने गरी रेस्टुरेन्ट खोल्न दिने ।

१०. निर्माण कार्यलगायतका कार्य पूर्णरूपमा बन्द गराउने, लुकिछिपी गराइएको पाइएमा कडा कारबाही गर्ने ।

११. दैनिक जीविकोपार्जनबाट जीविका चलाउने, भोकै नबस्ने गरी अभिलेख तयार गरी दैनिक या साप्ताहिक रासन भीड नगरी घरैमा पु-याउने व्यवस्था स्वयंसेवकमार्फत स्थानीय निकायले गर्ने ।

१२. अवकाशप्राप्त डाक्टर, नर्सजस्ता स्वास्थ्यकर्मीलाई केही महिनाका लागि काममा फर्कन अनुरोध गर्ने, प्राविधिक कारणले पढाइ सकेर पनि काम गर्न नतिजा कुरेर बसेका स्वास्थ्यकर्मीलाई द्रुत परीक्षा प्रणालीमार्फत अनुमति प्रदान गरी भर्ती गर्ने ।

१३. दैनिक उपभोग्य वस्तु– सागपात, तरकारी, दूध, कुखुरा, माछाजस्ता व्यवसाय असर नपर्ने गरी दानापानी र बेचबिखनको वैज्ञानिक प्रणालीमार्फत सरकारी निगरानीमा गराउने ।

१४. अति भयानक महामारीबाट ग्रसित हुँदा यस अवधिमा देशभर केन्द्रीय शासन व्यवस्थाको अधीनमा रही स्थानीय निकायले सोही बमोजिम मात्र गर्नुपर्ने ।

१५. स्वास्थ्यकर्मी, सफाइकर्मी आदिलाई कामको प्रोत्साहन गर्न सरकारी सुविधाको घोषणा गर्ने, सर्वसाधारणले समेत स्वास्थ्यकर्मीप्रति कृतज्ञता व्यक्त गर्न स्वतस्फूर्तरुपमा साँझ कुनै एक समय देशभर एक मिनेट ताली बजाउने ।

१६. लकडाउन अवधिभर टिभी, रेडियोले घरमै बसी गर्न सकिने व्यायाम, योग, स्कुले कक्षा, मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने ।

१७. मास्कको प्रयोग अनिवार्य गर्ने, चिउँडोमुनि लगाउने या कुरा गर्दा मास्क निकाल्ने नेपालीपन हटाउन सचेतना जगाउने, स्थानीय चिया पसल या चोकमा जम्मा हुन नदिने, नियमन र कारबाहीमा कडाइ गर्ने ।

१७. मनोबल घट्ने, वितृष्णा पैदा हुने, संक्रमितप्रति घृणाभाव राख्नेजस्ता व्यवहारलार्य तुरुन्त निरुत्साहित गर्ने ।

अन्त्यमा, सबैभन्दा गम्भीर पक्ष इमानदारी हो । कोरोना संक्रमणको दोस्रो लहर सरकार, राजनीतिक दल र नागरिक तीनै पक्षको बेइमानीका कारण भयावह बनेको हो । कोरोनाको पहिलो लहर चलिरहेकै बेला सरकारका मन्त्री नै मास्क नलगाई निस्कने र सामाजिक दूरीलाई बेवास्ता गर्नेजस्ता व्यवहार देखाइरहेका थिए । दलका नेताहरु आमसभामा उत्रिएका र नागरिकहरु भीडभाडमा सरिक देखिएका थिए । सर्वाधिक दोष सरकारको भए पनि राजनीतिक दल र नागरिकलाई पनि निर्दोष भन्न मिल्दैन । अब भने सबैले चेत्नै पर्छ । यसका लागि स्पेनजस्ता मुलुकको अनुभव उपयोगी हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्