काठमाडौं लैजान लाागिएको प्लान्ट हेटौंडामा

28
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

काठमाडौं लैजान लागिएको अक्सिजन प्लान्ट हेटौंडा अस्पतालमा जडान गरी उत्पादन शुरु गरिएको छ । अक्सिजन प्लान्ट जडानका लागि उपमहानगरपालिका कर्मचारी र काठमाडाैबाट आएका प्राविधिकले दिनरात नभनी काम गरेपछि अस्पतालमा दुई दिनमा नै उत्पादन सुरु गर्न सफल भएको हो । काठमाडौं लैजान भारतको रक्सौल भन्सारमा रहेको अक्सिजन प्लान्टको खरिद मूल्य हेटौंडा उपमहानगरपालिकाले भुक्तानी गरेपछि उक्त प्लान्ट हेटौंडा अस्पतालमा जडान गरिएको हो ।

हेटौंडाका व्यबसायी दीपक खनालले भारतबाट ल्याएको अक्सिजन प्लान्ट काठमाडांै लैजान लागेका थिए । तर, उपमहानगरपालिकाले खरिद गर्ने भनिएपछि हेटौंडा अस्पतालमा जडान गरिएको हो । अक्सिजन प्लान्ट ल्याउने व्यबसायीको खरिद मूल्य ३८ लाख उपमहानगरपालिकाले भुक्तानी गर्ने व्यबसायीसँगको सहमतिपछि हेटौंडा अस्पतालमा जडान गरिएको मेयर हरिबहादुर महतले बताउनुभयो । सोही प्लान्टबाट हेटौंडा अस्पतालमा अक्सिजन उत्पादन सुरु भएको छ । अक्सिजन प्लान्टको मेयर महतले उद्घाटन गर्नुभएको हो ।

अस्पतालमा एक सातादेखि अक्सिजन अभावका कारण कोरोना संक्रमितलाई उपचारमा समस्या भएपछि उपमहानगरपालिकाले प्लान्ट स्थापना गर्दै उत्पादन सुरु गरेको हो । कोरोनाका कारण गम्भीर भएर अस्पतालमा उपचार गराइरहेकाका लागि अक्सिजन उपलब्धतामा समस्या भएपछि तत्काल प्लान्ट स्थापना गरेर उत्पादन सुरु गरिएको मेयर महतले बताउनुभयो ।अस्पतालमा जडान गरिएको प्लान्टले दैनिक १५ सिलिण्डर अक्सिजन उत्पादन गर्नेछ । उत्पादन सुरु भएको छ । अक्सिजनको हाहाकार भएको समयमा यसले धेरै राहत प्रदान गर्नेछ ।

अक्सिजन नपाएरै अस्पतालमा उपचाररत् बिरामीहरुको मृत्यु हुनसक्ने भएपछि हतारहतारमा प्लान्ट जडान गरी उत्पादन सुरु गरिएको हो । हेटौंडा अस्पतालमा हाल ५४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । सबैलाई अक्सिजन दिएर उपचार भइरहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका रजिष्टार तथा अस्पताल विकास समिति अध्यक्ष राजेश प्रसाईंले बताउनुभयो । उपमहानगरपालिकाको विशेष पहलमा अक्सिजन प्लान्ट निर्माणपछि धेरै सहज भएको उहाँले बताउनुभयो । अन्य बेलामा पनि बिरामीलाई अक्सिजन खरिद गर्नुपर्ने बाध्यता केही कम भएको छ । उपमहानगरपालिकाले इटहरी र नुवाकोटबाट अक्सिजन ढुवानी गर्दै आएको छ । हेटौंडाको गौरीटारमा आइसोलेसन सञ्चालन गरिएको छ ।