कोशी अस्पतालमा कोभिड–१९ युनिट


नेपाल समाचारपत्र, विराटनगर

विराटनगरस्थित कोशी अस्पतालको मेडिकल कक्षभित्र भेन्टिलेटरसहितकोे कोशी कोभिड–१९ युनिट बिहीबारदेखि सञ्चलानमा ल्याइएको छ । कोरोना संक्रमितको संघन उपचारका निम्ति प्रदेश–१ मा सञ्चालित ९ वटै कोभिड अस्पतालहरु बिरामीको चाप थेग्न नसक्ने अवस्थामा पुगेपछि कोशी कोभिड–१९ युनिट सञ्चलानमा ल्याइएको हो ।

कोशी अस्पतालको मेडिकल कक्षभित्र चारवटा कोठा छन् । यी सबै कोठामा अक्सिजनसहितको बेड राखेर कोरोना संक्रमितको उपचार गर्ने उद्देश्यले अस्पतालभित्र कोशी कोभिड–१९ युनिट सञ्चलानमा ल्याइएको छ । आवश्यक सबै पूर्वाधार पूरा भएपछि अस्पतालमा ५ शय्याको भेन्टिलेटरसहितको आईसीयू, २५ बेडको एचडीयू, ३२ अक्सिजनसहितको बेड सञ्चालनमा ल्याइएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताउनुभयो । अस्पतालको मेडिकल कक्ष र ग्राउन्ड फ्लोरको पोस्टमेटल वार्डलाई कोभिड अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न थालिएको उहाँले जनाउनुभयो ।अस्पतालमा दक्ष जनशक्ति रहेका कारण अन्य अस्पतालभन्दा कोशी कोभिड–१९ युनिटमा राम्रो उपचार हुने सकिने अस्पतालको दाबी छ । कोशी कोभिड–१९ युनिट अस्पतालामा कोरोना संक्रमितका लागि निःशुल्क उपचारसहितको सेवा सराहनीय रहेको जिल्ला प्रशासन कार्यालयका प्रमुख कोषहरि निरौलाको भनाइ छ ।

आईसीयू र भेन्टिलेटरमा बिरामीले बेडका लागि पालो कुर्नुपर्ने अवस्थामा कोशी कोभिड–१९ युनिट सञ्चालनमा ल्याएर सबैलाई सहज भएको उहाँले बताउनुभयो । पछिल्लो समय फैलिएको म्युटेन्ट भेरिएन्टसहितको कोरोना संक्रमणका कारण गम्भीर प्रकृतिका बिरामी बढेसँगै अस्पतालहरु थप बिरामी भर्ना लिन कठिनाइ रहेको छ । यस अवस्थामा कोशी कोभिड–१९ युनिटले भर्ना लिन थालेको काम निकै नै सराहनीय भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताउनुभयो ।अस्पतालमा ५ शय्याको भेन्टिलेटरसहितको आईसीयू, २५ बेडको एचडीयू, ३२ बेडको अक्सिजनसहितको सेवाले सबैका लागि सहज भएको बताउनुभयो । अहिले कोशी अस्पतालमा कार्यरत चिकित्सकको टोलीले संक्रमितको उपचार गर्नेछन् ।

कोशी अस्पतालमा राम्रो उपचार हुन्छ भन्दै कोरोना संक्रमितहरु भर्ना हुन लाइनबद्ध लागेका छन् । कोशी अस्पतालभित्र कोशी कोभिड–१९ युनिटमा बिहीबार ९ जना भेन्टिलेटरसहितको आईसीयूमा भर्ना भएका थिए ।