मकवानपुरमा भयावह बन्दै कोरोना एउटै वडामा ८० प्रतिशत संक्रमित


हेटौंडा, (नेस) ।

उत्तरी मकवानपुरको थाहानगरमा अपत्यारिलोढंगले कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गएको छ । बिहीबार राति प्राप्त पीसीआर रिपोर्टअनुसार एउटै वडामा परीक्षण गरिएकामध्ये ८० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको पाइएको हो ।

नगरको १ नम्बर वडाको कुलगाउँमा ५ जनाको पीसीआर परीक्षणमा सबैको पोजेटिभ रिपोर्ट आएको छ । १ नम्बरकै थोकरगाउँमा १० जनाको पीसीआर परीक्षणमा ७ जनाको पोजेटिभ आएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङका आधारमा लक्षण नदेखिएकाहरुको स्वाब संकलन गरिएकोमा डरलाग्दो रिपोर्ट आएको नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले बताउनुभयो । संक्रमित भएकाहरु पनि ‘केही भएको छैन’ भन्दै जथाभावी हिँड्नु र स्वाब दिएकाहरु रिपोर्ट नआउँदै जथाभावी निस्कनुको परिणाम भयावह बन्दै गएको उहाँको कथन छ ।

दोस्रो भेरियन्टबाट सतर्क हुन सरकारले सूचना जारी गर्नासाथ थाहा नगरपालिकाले सतर्कताका उपाय खोजी गरे पनि प्रभावकारी हुन नसक्दा दिनानुदिन संक्रमणको गति तीव्र बन्दै गएको हो । नगरले संक्रमण बढ्न नदिन वडास्तरमा समितिहरु गठन गरे पनि औपचारिकमात्र रहन पुग्यो । ‘हामी सबै चिन्तित भएर सुरक्षाका उपाय अपनाउन आवश्यक छ,’ नगर मेयर लवशेर बिष्टले कोभिड नियन्त्रण तथा रोकथाम निर्देशन समितिको बैठकमा बारम्बार भने पनि सबै गम्भीर भएर नलाग्नाले समस्या जटिल बन्दै गएको छ ।वडास्तरमा नियन्त्रण गर्ने अभिप्रायले मेयरसहित निर्देशन समितिले वडा नम्बर–१, २, ३, ४, ६, ९ र १० मा समितिहरु गठन ग-यो । बाँकी वडाहरुमा समिति गठन गरी तत्काल क्रियाशील हुने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको थियो । तर, कोरोनाको संक्रमणलाई गम्भीरतासाथ लिइएन । कतिपय वडाहरुमा त स्वाब दिने स्थानीय फेला पार्न स्वास्थ्यकर्मीको टोलीलाई हम्मेहम्मे परेको छ ।थाहानगरमा वडामै पुगेर स्वाब संकलनको काम तीव्र पारिएको छ । बिरामी भएर स्वास्थ्य केन्द्र आएकामध्ये धेरैजसोमा कोभिड संक्रमण भएको पाइएपछि फिल्डमै गएर स्वाब संकलनलाई तीव्र बनाइएको हो । तर, स्वाब संकलनका लागि स्थानीय डराएपछि स्वास्थ्यकर्मी अचम्मित भएका छन् ।

डाक्टरसहित टोली थाहा–११ मा पुग्दा स्थानीयहरु स्वाब दिनुको साटो स्वास्थ्यकर्मीबाट परपर गए । त्यहाँ पीसीआरका लागि ६ जनामात्र तयार भए । लक्षण देखिएका ४ जनाको एन्टिजेन परीक्षण गरिएकोमा एक जनाको रिपोर्ट पोजेटिभ आएको डा. रिकेश कार्कीले बताउनुभयो ।थाहा नगरको १ नम्बरमा ४९, २ मा ३६, ३ मा ८०, ४ मा २६ जना संक्रमित भएको पुष्टि भइसकेको छ । थाहा–५ मा ११, ६ मा २४, ७ मा १, ८ मा ३३, ९ मा ३, १० मा ६, ११ मा ८ र १२ मा २ जना गरी २ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ ।कोरोना नियन्त्रण तथा रोकथामका लागि नगरअन्तर्गत् २ डाक्टरसहित १० जनाको टोली परिचालित छ । २० बेडको आइसोलेसन सञ्चालनमा छ । कुन्छालमा नागरिक सहभागिता सहित ड्राइ आइसोलेसन सञ्चालनको तयारीमा छ । हालसम्म १२ जना निको भएका छन् ।होम आइसोलेसनमा बसेकाले स्वास्थ्य मापदण्ड पूरा नगरी ‘मलाई त कुनै लक्षण छैन । खाना पनि खुब रुच्छ, स्वाद पनि हराएको छैन’ भन्दै लापरबाही गर्ने गरेको भन्दै महासचिव प्रधानले चिन्ता व्यक्त गर्नुभयो । ‘बिहे भोजमा मास्क लगाएर नाचगानमा भीड गरेका छन् ।

अरु त अरु, स्वास्थ्य जाँच गर्न गएकाले नै भौतिक दुरी कायम गरेनन्,’ उहाँले भन्नुभयो–कतिपय त कोरोना ‘हाउगुजी’ हो भन्दै लुडो, तासमा जमेका छन् । आफ्नालाई माया गर्दै नजिक हुने र अरुले खोकेमात्र पनि हेला र घृणा गर्नेे व्यबहारले सकेसम्म भित्रभित्रै पचाउन खोजिएको छ । संक्रमितहरु कि रोग पचाउनै नसकेपछि स्वास्थ्य केन्द्र गए, कि त संक्रमितसँग नजिक भएकै कारण जचाउन बाध्य भए ।
गत वर्ष कोरोना कहरभरमा ७५ जना संक्रमित भएको नगरमा ३ हप्तामा २ सय ८२ जना पुगिसक्दा पनि अझै ख्यालख्याल सम्झिरहेका छन् । जनप्रतिनिधिले आफ्नो भूमिका देखाउनै सकेनन् । हाल नगरपालिकाका १० कर्मचारी संक्रमित भएर आइसोलेसनमा बसेका छन् । वडा कार्यालयहरु बन्द छन् ।‘संक्रमणको लक्षण देखिएकाहरु घरघरमा लुकेका छन् । गाउँमा भएका बिहेले धेरैलाई हेटौंडासम्म दौडाए, अझै जेठ महिनामा ८ वटा लगन छन् ।,’ प्रधान भन्नुहुन्छ–केही रिसाउला कि भन्ने मनोभावले रोग संक्रमणको जोखिम बढाइरहेकालाई केही भन्न नसकेर प्रहरीमा फोन गरिरहेका छौं । समाजमा मानिस बाँचेमात्र ब्यापार, पेशा, व्यबसाय, राजनीति रहन्छ । समाज स्वस्थ्य नरहे कसको के रहन्छ र ? अझै नियन्त्रण बाहिर गइसकेको छैन । सबैले आफ्नो दायित्व र कर्तव्य निर्वाह गरौं ।