बल्ल तात्दैछन् स्थानीय तह : कोरोना सङ्क्रमित खोज्न घर घरमा स्वास्थ्यकर्मी

0
Shares

विमल विष्ट, डोटी ।

डोटी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि यहाँका स्थानीय तहले स्थानीयका घर घरमा गएर सङ्क्रमितको खोजी कार्य गर्न थालेका छन् । यहाँका नौ वटा स्थानीय तहहरु दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, आदर्श गाउँपालिका, सायल, पुर्वीचौँकी, बोगटान फुड्सिल, केआइसिंह, बडिकेदार तथा जोरायल गाउँपालिकाले पछिल्लो समय आफ्ना वडामा रहेका नागरिकहरुको घरैमा गएर कोरोना जाँच गर्न थालेका छन् । यहाँका स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरुले घर घरमा गएर बिरामीहरुको एण्टिजेन परीक्षण गर्न थालेको बताइएको छ । जिल्लामा हालसम्म सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५५२ पुगेको छभने पाँच जनाको ज्यान गइसकेको छ । जसमा १७ जना मात्रै निको भएर घर फर्किएका छन् ।

पछिल्लो समय कोरोना महामारी समुदाय स्तरमै फैलिन थालेपछि यहाँका स्थानीय तहका स्वास्थ्यकर्मीको सहयोगमा गाउँ गाउँमा स्वास्थ्यकर्मी गएर सङ्क्रमितको खोजी कार्य गर्न थालिएको जिल्ला अस्पताल डोटीका सुपरिटेन्डेन्ट कृष्णराज जोशीले बताउनुभयो । उहाँले भन्नभयो, “समुदायका कोरोना सङ्क्रमण फैलिएको पाइएपछि हामीले स्थानीय तहका स्वास्थ्यकर्मीको सहयोगमा घर घरमा गएर सङ्क्रमिण्तको खोजी गर्दै उपचार गर्न थालेका छौँ, जस्ले गर्दा नागरिक र समुदायले राम्रो हुने भएको छ ।” कोरोना सङ्क्रमिण्तको खोजी कार्यसँगै यहाँका स्थानीय तहका स्वास्थ्यकर्मीले आ–आफ्ना पालिका तथा वडाहरुमा स्वास्थ्य सेवालाई समेत प्रभावकारी बनाउन थालेका छन् । समुदायमा कोरोना सङ्क्रमणको अवस्था र जनताको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कोरोना परीक्षण, स्वास्थ्य सामग्री र औषधी वितरण जस्ता कार्यक्रमलाई अगाडी बढाएको जोरायल गाउँपािलकाका स्वास्थ्य संयोजक गोविन्दबहादुर विष्टले जानकारी दिनुभयो ।

यसैगरी जिल्लाको शिखर नगरपालिकामा रहेको नगर स्वास्थ्यले पनि नगरपालिकामा रहेका स्वास्थ्य समस्या देखिएका २० जनाको आज एण्टिजेन परीक्षण गरेको छ । परीक्षणमा १९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य संयोजक हरिष शाहले जानकारी दिनुभयो । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमणले महामारीको रुपलिने अवस्था सृजना भएपछि यहाँका स्थानीय तहले गाउँमै आफ्ना स्वाथ्यकर्मी परिचालन गरी सबैको एन्टिजेन मार्फत कोरोना परिक्षण गर्ने कार्यलाई तिब्रता दिन थालिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भारतबाट रोजगारी गरी घर फर्किएका नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेको छ, गाउँमा पनि कोरोना सङ्क्रमण फैलिएकाले महामारी नफैलियोस भन्दै हामीले स्वास्थ्यकर्मी परिचालन गरी सङ्क्रमितको खोजी कार्य सुरु गरेका छौँ ।” पछिल्लो समय यहाँका स्थानीय तहले परिचालन गरेका स्वास्थ्यकर्मीले भारतबाट रोजगारी गरी गाउँ आएर सङ्क्रमित भएकाहरुको ट्राभल हिस्ट्रि समेत खोजी गर्न थालेका छन् । कोरोना परिक्षण गर्ने एन्टिजेन किट उपलब्ध भएपछि बल्ल यहाँका स्थानीय तहहरु गाउँ गाउँमा गएर कोरोना सङ्क्रमित खोज्न थालेको केआइसिंह गाउँपालिका–५ का शिक्षक चेतराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा कोरोना सङ्क्रमितको सङ्ख्या निकै बढेको देखिन्छ, ढिलै भएपनि स्थानीय सरकारले कोरोना सङ्क्रमित खोजी गर्ने कार्य अगाडी बढाएको छ, आसा छ अब कोरोना सङ्क्रमण रोगले महामारीको रुप लिने छैन् ।”

यहाँका गाउँघरमा स्वास्थ्य समस्या देखिएका बिरामीहरु र भारत लायतका अन्य मुलुकबाट आएका जोकोही व्यक्तिहरुको एन्टिजेन बिधिबाट कोरोना परीक्षण गर्ने गरी स्वास्थ्यकर्मीहरु परिचालन भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत सूर्य विष्का अनुसार कोरोना परीक्षणबाट यहाँका गाउँ तथा समुदायमा कोरोना सङ्क्रमितको अवस्थाका बारेमा जानकारी हुने र सोही अनुसार स्वास्थ्यका गतिविधिलाई अगाडी बढाउने स्वास्थ्य कार्यालयको योजना रहेको छ । गाउँमा परिचालन भएका स्वास्थ्यकर्मीहरुले तत्काल बिरामी भइहाले आवस्यक पर्ने औषधि, स्वास्थ्य सामग्री मास्क र सेनेटाइजर समेत घर घरमा पुगेर बितरण गर्न थालेको गड्सेरा स्वास्थ्य चौकीका अनमी बिधि भण्डारीले जानकारी दिनुभयो ।

यसैगरी शिखर नगरपालिका स्थित स्वास्थ्य कार्यालयले पनि बिरामीबाट अरुमा सङ्क्रमण नफैलियोस् भन्ने हेतुले कोरोना लक्षण देखिएका व्यक्तिले प्रयोग गर्न सर्जिकल मास्क, सेनेटाइजर पलब्ध गराउन थालेको स्वास्थ्य संयोजक हरिष शाहले जानकारी दिनुभयो । आइसोलेसनमा बसेका समयमा एक्कासी ज्वरो आए स्वास्थ्य संस्था पुग्नु अघि औषधि सेवन गर्न मिलोस भन्ने उदेश्यले प्यारा सिटामोल पठाउन थालिएको नगर स्वास्थ्यले जनाएको छ । यतिमात्र नभइ यहाँका स्थानीय तहले बल्ल आएर भारतबाट रोजगारी गरी घरफर्किएका नागरिकहरु होम तथा विद्यालयको आइसोलेसनमा बसेका नागरिकहरुको स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी लिनुका साथै निगरानी समेत गर्दै आएका छन् ।