भुकम्पले ६ जना घाइते, १०२ घरमा पूर्ण क्षति

0
Shares

शिक्षा पन्त, लमजुङ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका अन्तर्गत भुलभुले केन्द्रबिन्द बनाएर बुधबार बिहान गएको भूकम्पका कारण ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापाका अनुसार भूकम्पमा परी ६ जना घाइते भएका हुन् ।

घाइते हुनेमा मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु घर भई हाल बेंसीसहर ६ चनौटे बस्दै आएकी ४० वर्षीया उमा गुरुङ, बेंसीसहर ११, रामचोकबेंसीकी ८३ वर्षीया खुवकुमारी पाण्डे र दोर्दी गाउँपालिका–७, लप्सीबोटकी ८३ वर्षीया मंगलीमाया तामाङ , मर्स्याङ्दी गाउँपालिका–६, ठूलीबेसीका २२ वर्षीय गोविन्द अधिकारी, बेंसीसहर नगरपालिका ८, ओख्लेफाँटकी २९ वर्षीया खुसीमाया गुरुङ र बेंसीसहर–८ सेराकी ६० वर्षीया सुमित्रादेवी घाइते भएका हुन । घाइते सबैको जिल्ला अस्पताल लमजुङमा उपचार गरी घर फर्कीसकेको सबैको अवस्था सामान्य रहेको लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताउनुभयो ।

घाइतेमध्ये टाउकोमा चोट लागेका अधिकारीको सीटी स्क्यान गर्नुपर्ने भएकाले चितवन रिफर गरिएको छ । घटनाको क्षतिको विवरण संकलन भइरहेको र हालसम्म १०२ भन्दा बढी घर पुर्ण क्षति भएको पहरी नायव उपरिक्षक गंगा बहादुर थापाले बताउनुभयो । भुकमपले घर पुर्ण क्षति भइ विस्थापित भएका परिवारलाई स्थानीय तह तथा विभिन्न निकायको सहयोग समन्वयमा टेन्टलगायत राहत सामग्री सहयोग गरिने लमजुङ प्रशासनले जनाएको छ । बुधबार बिहान ५ बजेर ४२ मिनेटमा मर्स्याङ्दि गाउँपालिका–८ भुलभुलेलाई केन्द्रविन्दु बनाएर ५ दशमलव ८ म्याग्नेच्युटको भूकम्प गएको थियो ।