कोरोना सङ्क्रमणबीच गर्भवतीको उपचारमा चुनौती



दुल्लु । सबैतिर कोरोना सङ्क्रमणको त्रास छ, गर्भवती र उनीहरुका परिवारलाई भने कसरी सुरक्षित सुत्केरी गराउने र सङ्क्रमण हुनबाट जोगाउने भन्ने थप चिन्ता छ । दैलेख जिल्ला अस्पतालमा सुत्केरी गराउन आवश्यक उपकरण र भौतिक संरचना पयाप्त भएपनि दक्ष जनशक्ति नहुँदा जटिल खालको समस्या आए के गर्ने भन्ने विषयमा अस्पताल प्रशासन नै स्पष्ट छैन । तीन महिनादेखि रोकिएको प्रशुति शल्यक्रिया आजदेखि शुरु भए पनि उपचार पर्याप्त नभएको स्थानीयवासीको भनाइ छ ।

अस्पतालका सूचना अधिकृत थिरप्रसाद रेग्मीले चिकित्सक डा निराजन पन्त सरुवा भएर गएदेखि जटिल खालका प्रशूति शल्यक्रिया गर्नु परे सुर्खेतस्थित अस्पतालमा लैजान सल्लाह दिने गरेको बताउनुभयो । अहिलेसम्म करीब ५०/६० जना यस्ता गर्भवतीलाई सुर्खेत रिफर गरिएको जनाइएको छ । उहाँले भन्नुभयो, ‘‘छ महिनादेखि नियमित गर्भवती महिलाको जाँच बाहेक जटिल खालका समस्या आए रिफर गर्नुबाहेक अर्को विकल्प छैन । अहिले त कोरोनाका कारण नर्सहरुले सामान्य र अन्य बिरामी पनि रिफर गर्ने स्थिति छ ।’’

यसले गर्दा कतिपयको सुर्खेत लैजाने क्रममा बाटोमै बच्चा हुने गरेको घटना पनि छन् । जिल्ला अस्पतालमा अर्को चिकित्सक नआएसम्म गर्भवतीका सामान्य उपचार र परामर्शबाहेक अन्य सेवा हुन सकेको छैन । सो अस्पतालमा चिकित्सक नभएका भने होइनन् तर प्रशूतिका सम्बन्धित विशेषज्ञ छैनन् । स्त्रीरोगसम्बन्धी चिकित्सक अत्यावश्यक रहेको भनेर सम्बन्धित निकायमा मागपत्र पेश गरे पनि दरबन्दी व्यवस्थापन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्