डोटीका शहरमा कोरोना त्रास, गाउँमा सुनसान



विमल विष्ट, डोटी ।

डोटी जिल्लाका गाउँघरका स्थानीयवासीमा कोरोना त्रास खासै रहेको पाइदैन । यहाँका शहर बजारमा पछिल्लो समय कोरोना सङ्क्रमणको त्रास छभने गाउँघरमा कोरोनाको खासै त्रास छैन । गाउँका नागरिकहरु खुलमखुला रुपमा हिडडुल गर्ने तथा आफ्नो काममा व्यक्त हुने गरेका छन् । कामका लागि भारत गएका यहाँका ग्रामिण क्षेत्रका नागरिकहरु अहिले गाउँमा फर्किएपनि गाउँमा कोरोनाको कुनै त्रास नभएको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीय नरेश बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा भएका नागरिक सामुहिक रुपमा मेलापात जाने तथा सँगै काम गर्ने गरेका छन्, कोरोनाको खासै डरत्रास छैन, शहरमा कोरोना त्रासले बिजोक बनाएको छ ।”

यहाँका प्रमुख बजारहरु दिपायल, पिपल्ला, सिलगढी, राजपुर, कालागाढ लगाएतका क्षेत्रहरु पूर्णरुपमा बन्द भएपनि गाउँमा रहेका पसल भने कहि कती बन्द नभएको र खुलम खुला रुपमा सञ्चालनमा रहेका स्थानीयवासीहरु बताउछन् । यहाँका गाउँघरमा कोरोना परिक्षण नगरिएका कारण कुन व्यक्तिलाई कोरोना सङ्क्रमण छ भन्ने विषयमा जानकारी नभएका कारण पनि यहाँका गाउँघरका स्थानीयमा कोरोना त्रास नभएको जोरायल गाउँपालिका–५ का डम्बर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा कोरोना परिक्षण गरिएको छैन, कस्लाई कोरोना भएको छ थाहा नहुँदा, त्रास नभएको हो, शहर बजार नजिकका गाउँका मानिसमा सामान्य ज्वरो आउदा पनि जाँच हुने तथा कोरोना परिक्षण गरिने भएकाले कोरोना त्रास बढेको हो ।”

भारतबाट काम गरी घर फर्किएका यहाँका नागरिकहरु सामान्य ज्वरो आउदा समेत स्वास्थ्यचौकी तथा अस्पतालमा उपचार गराउन नआउने गरेका तथा कोरोना परिक्षण गर्ने किट नभएका कारण पनि गाउँमा खासै कोरोना सङ्क्रमित नदेखिने तथा कोरोना त्रास पनि नरहेको र नागरिकहरु खुलारुपमा हिडडुल गर्ने बानी परेको जोरायल गाउँपालिका–५ स्थित गड्सेरा स्वास्थ्यचौकीका अनमी बिधी भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्यतया ज्वरो लगातका बिराम भएका व्यक्ति स्वास्थ्यचौकी आउदैनन्, सङ्कासपद व्यक्ति बाहेक अन्यको कोरोना जाँच पनि गरिएको छैन, नागरिकमा पनि कोरोना त्रास छैन्, निर्वाध रुपमा हिड्डुल गरीरहेका छन् ।” गाउँमा रहेका पसल बन्द गर्ने तथा हिडडुल गर्ने लाई रोक्ने केही पनि निकाय नभएका कारण गाउँमा स्थानीयवासीले कोरोनाको कुनैपनि प्रवाह नगर्ने गरेको स्थानीयवासीहरु बताउछन् ।

जिल्लामा पछिल्लो केही हप्ता यतादेखि कोरोना सङ्क्रमण हुँने दर निकै बढ्दै गएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लामा हाल ५२२ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । सङ्क्रमित मध्य ६ जनाको ज्यान गइसकेको छभने १७ जना मात्रै निको भएर घर फर्किएका छन् । यहाँका गाउँघरमा रहेका नागरिकहरुको कोरोना परिक्षण गरिए जिल्लामा अझै बढी कोरोना सङ्क्रमित फेला पर्न सक्ने स्वास्थ्यकर्मीहरु बताउछन् । भारतबाट रोजगारी गरी घर फर्किएका अधिकाँस यहाँका नागरिकहरु सिधै गाउँघरमा जाने तथा त्यहाँ उनीहरुले समुदायमा घुलमिल गर्नेक्रम बढेका कारण गाउँमा कोरोना सङ्क्रमित हुँने सक्ने उनीहरुको अनुमान रहेको छ ।

स्वास्थ्यमा समस्या आएपछि जाँच गराउन अस्पताल आएका नागरिकहरुमा दैनिक कोरोना सङ्क्रमण हुँने दर देखिएको जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण देखिएका मध्ये बसै भन्दा बढी भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक हरेको उहाँको भनाई छ । कोरोनाको सम्भावित जोखिम हुन नदिन जिल्लामा बन्दाबन्दी गरेपनि वर्षभरीको उत्दान गरेको गहुँबाली भित्र्याउन तथा धानको बेर्ना राख्न यहाँका बजार तथा ग्रामीण क्षेत्रका किसानलाइ भ्याइ नभ्याइ भइरहेको शिखर नगरपालिका–१ की पर्वती बोगटीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोना त्रासले कति घर भित्रै लुक्नु काम नगरी खान मिल्दैन, गाउँमा खासै कोरोना त्रास पनि छैन, हामी त काम गर्न निस्किन थालेका छौँ ।” किसानलाई कोरोना सङ्क्रमण हुँने चिन्तासँगै बेला बेलामा मौसम परिवर्तन हुँने हुँदा कतै खेत बारीमा पाकेको गहुँ भित्र्याउन पाईदैनकी भन्ने चिन्ताले किसनाहरु ग्रसित भएको उहाँको भनाइ छ । यहाँका गाउँघरमा गहुँ बाली प्रायः सबै ठाउँमा पाकी सकेको र धानको बेर्ना राख्ने हतारो भएका कारण किसानहरु कोरोनाको कुनै प्रबाह नगरी गहुँ काट्न र बेर्ना राख्नमै व्यस्त हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्