कोरोनाको पाठ



कोरोना भाइरस संक्रमणको दोस्रो लहरले मुलुकलाई गाँज्दै लगेपछि सरकारले राजधानी उपत्यका लगायतका संक्रमणले आक्रान्त पारेका क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि नागरिकको दौडधुप तीव्र हुन थालेको छ । सरकारले काठमाडाै उपत्यकामा भोलि, वैशाख १६ देखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेपछि राजधानी छोडेर आफ्नो थातथलो लाग्नेको भीड बढेको छ । राजधानीबाट बाहिरीने मुख्य नाकाहरुमा हजाराै मानिस अहिले घर फर्कन लागेका भेटिन्छन् । एक प्रकारको अनिश्चितता र चिन्ता उनीहरुको अनुहारमा प्रस्ट देखिन्छ ।

सायद एक वर्षको अनुभवले हुनुपर्छ, यात्रुहरुको अनुहारमा अनिश्चितता देखिए पनि पीडा भने पहिलाजस्तो छैन । जसरी कोभिड गत वर्ष आयो र त्यसलाई सबै मिलेर व्यवस्थापन गरियो, त्यसरी नै यो दोस्रो लहर पनि जान्छ भन्ने विश्वास आम नागरिकमा छ । यद्यपि यात्राका क्रममा भीडभाड भने बढेको छ । कोरोना संक्रमणको जोखिम आकासिएको छ । राजधानीबाट बाहिरिनेहरु अवश्य आफ्नो जन्मस्थल वा गाउँतिर लागेका हुन् । तर, घर फर्कने क्रम बढेसँंगै देशभर कोरोना संक्रमणको जोखिम पनि बढ्ने निश्चित जस्तै छ । शहरबाट गाउंँ जाँदैमा कोरोना संक्रमण नियन्त्रण हुने होइन । यसले गाउँंलाई समेत आक्रान्त पार्न सक्ने भएकाले शहरबाट गाउँं जानेले सोच्ने बेला भएको छ । अहिले तीव्ररूपमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले जुन ढंगले प्रभावकारी कार्यक्रमण अगाडि बढाउनुपर्ने थियो, त्यो हुन नसक्नु अर्को दुःखद पक्ष मान्नुपर्दछ । सरकारले राजधानी छोडेर गाउंँ जानेलाई रोक्न नसक्नु अर्को पीडादायी अवस्था हो । दुई छाकको जोहो गर्न नसकेर गाउंँ जान लागेकालाई सरकारले राहत प्याकेज ल्याएर आश्वस्त पार्नुपर्ने थियो त्यो हुन सकेन । कोरोना संक्रमणको पछिल्लो अवस्थालाई हेर्ने हो भने मुलुकमा विकराल रूप लिने निश्चित प्रायः देखिन्छ ।

तर, सरकारी तयारी हेर्ने हो भने कछुवाको गतिमा अगाडि बढ्ेको छ । संक्रमणबाट अकालमा ज्यान गुमाउनेको संख्या अकल्पनीय हुने विज्ञहरुले अनुमान गर्न थालेका छन् । नागरिकहरुमा चेतना भए पनि हेलचेक्र्याइँ गर्ने बानीले कोरोना समुदायस्तरमा फैलन थालेको छ । कोरोनाको प्रभावकारी औषधि नभए पनि कोरोनाविरुद्धको खोपलाई देशव्यापीरूपमा लैजाने सरकारी घोषणाले समेत काम गर्न नसकेको अहिलेको अवस्थामा जनता सजग हुनु जरुरी देखिन्छ ।सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्न आनाकानी गर्ने नेपालीको बानीमा सुधार नआएसम्म कोरोना संक्रमण नियन्त्रणमा आउनसक्ने देखिँदैन । त्यसैले सरकारले केही गरिदेला भन्ने भन्दा पनि नागरिक आफैं जागरुक हुन जरुरी देखिन्छ । विश्वमा यस्ताखाले भाइरसले बेला–बेलामा नागरिकलाई दुःख दिएको इतिहासलाई ख्याल गर्दै अगाडि बढ्न सक्नुपर्दछ । अहिले विश्वका सम्पन्न देशहरुलाई समेत संक्रमणले आक्रान्त पारेको छ । संक्रमण नियन्त्रणका लागि चालिएका कदमहरु प्रभावकारी हुन सकेको देखिएको छैन । छिमेकी मुलुक भारतमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न भारत सरकारलाई समेत हम्मे–हम्मे परेको अहिलेको अवस्थामा नेपालले भारतबाट पाठ सिक्नुपर्ने देखिन्छ । सरकारले पनि थप सजकता अपनाउनुपर्ने बेला आइसकेको छ । विगतमा कोरोना गयो भनेर हतारमा लापरबाही देखाएका कारण आज यो अवस्था आएको पाठ हामीले सिक्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्