सबैतिर लापरबाही



कोरोना भाइरसको संक्रमणमा आम नागरिक र सरकार दुवै लापरबाही देखिएका छन् । नागरिकलाई मास्क लगाएर हिँड्न पनि असजिलो लागेको छ भने सरकार महामारी नियन्त्रणको औपचारिकतामा सीमित छ । सरकार एकातिर जनस्वास्थ्यका मापदण्डलाई हेलचेक्र्याइँ नगर्न जनतालाई आग्रह गर्छ, तर स्वयं भने त्यसको बेवास्ता गरिरहेको हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनताले नियमको पालना नगरे सरकारले कठोर कदम उठाउने चेतावनी दिँदै छ भने सरकारकै मुख्य निकाय प्रधानमन्त्री कार्यालयमा कुम्भ मेला लागिरहेको हुन्छ ।

कोरोना संक्रमणले पद हेर्दैन र ओहदा चिन्दैन, जहाँ भीडभाड उहीं रमाउँछ । सरकार स्वयं उदाहरण बनेर पालना नगर्दा आम नागरिक भ्रममा परेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले मंगलबार भर्चुअल पत्रकार सम्मेलन गरी आम मानिसले आफ्नो कर्तव्यबाट टाढा भएर जनस्वास्थ्यको मापदण्डविपरीत काम गरे सरकार लकडाउनको अवस्थामा पुग्ने चेतावनी दिए । मिटिङका लागि भर्जुअल माध्यमको प्रयोग नगर्नु विडम्वनाको विषय छ । कोरोना संक्रमण बढेसँगै अस्पतालका आईसीयू र भेन्टिलेटर भरिन थालेका छन् । भर्ना हुन आउनेहरुको घुइँचो दिनहुँ बढ्दै जाँदा अस्पतालले थेग्न नसक्ला कि भन्ने चिन्ता हुन थालेको छ । कोरोनाको नयाँ स्वरूप यूके भेरियन्ट र भारतमा देखिएको डबल म्युटेन्ट भाइरस नेपालमा पनि भएको पुष्टि भएको छ । विज्ञहरुले यस खालको भाइरसले निकै संक्रामक रूप देखाउने तथा सबै उमेर समूहलाई गम्भीर बिरामी बनाउन सक्ने सम्भावना औंल्याइरहेका छन् ।

सरकारकै पछिल्लो तथ्याङ्कमा १३ प्रतिशत आईसीयू भरिइसकेका र १० प्रतिशत विरामीहरु भेन्टिलेटरमा भर्ना भएका छन् । सरकारले अपनाउनुपर्ने सुरक्षा, जनशक्तिको व्यवस्थापन, उपचारका लागि आवश्यक अस्पताल, स्वास्थ्य केन्द्र, पीसीआर परीक्षण, आइसोलेसन, स्वास्थ्यकर्मीलाई दिनुपर्ने प्रोत्साहन भत्ताका साथै उपचार गर्न सहज वातावरण, स्रोत–साधन र जनशक्तिको थप व्यवस्थापन, औषधि, अक्सिजन, एम्बुलेन्स, खाद्यान्न, उद्योग, कलकारखानामा कार्यरत कामदारको रोजीरोटीका लागि सुरक्षित कार्यस्थललगायतका विषयमा ध्यान दिन नखोज्नु लापरबाहीको उदाहरण मात्र हो ।देशको ढुकुटी रित्याएर कार्यकर्ताको प्रदर्शनी र देशमा ठेकेदार मात्रको विकास गर्ने कार्य बन्द गरिनुपर्ने उनीहरुको धारणा देखिन्छ । सरकारले भनेजस्तो विद्यालय बन्द गर्दैमा कोरोनाको दोस्रो लहर नियन्त्रण हुन्न । विद्यालय जाने बालबालिका भनेका घरबाट विद्यालय र विद्यालयबाट घर जाने हुन्, उनीहरुमा कोरोनाको नयाँ भेरियन्टको संक्रमणको सम्भावना न्यून छ । उनीहरु बेलायत, भारतको भ्रमणमा जाँदैनन् ।

त्यसैले मूल बाटो खुला छोडेर गल्लीमा तगारो लगाएर कोरोना रोकिन्न । खुला सिमाना, विदेशबाट आउने व्यक्तिहरुको निगरानी, परीक्षण, सचेतना अभिवृद्धि आदिको खाँचो छ । कोरोना नेपालमै देखा परेको रोग नभई विदेशबाट भित्रिएको रोग हो । यो शहर बजार हुँदै समुदायमा प्रवेश गरेको छ । नियन्त्रणका लागि यही अवस्थामा सबै क्षेत्रलाई कडाइ गरी परीक्षणमा जोड दिने र एउटा समुदायमा संक्रमण फैलियो भने पूर्णरूपमा स्वास्थ्य सुरक्षाको पालना गरी नियन्त्रणमा नआएसम्म उक्त समुदायको निगरानी गर्नुपर्ने सुझाव विज्ञहरुको छ । विगतमा पनि स्वास्थ्य क्षेत्रभन्दा अन्यत्र ध्यान दिएर कोरोना फैलाउन सघाउने सरकारका कार्यमा यसपटक पनि खासै परिवर्तन देखिएको छैन जो दुर्भाग्यपूर्ण हो ।

प्रतिक्रिया दिनुहोस्