कोरोना सतर्कता



छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको अवस्था भयावह बनेसँगै नेपालमा पनि कोरोना संक्रमण पुनः यत्रतत्र देखिन थालेको छ । अहिले दैनिक एक हजारका दरले कोरोना संक्रमित थपिने क्रम बढेको छ भने निको हुनेको संख्या अत्यन्त न्यून रहेको छ ।

सरकारले कोरोना संक्रमणबाट नागरिकलाई जोगाउन जुन प्रकारले तीव्र तयारी गर्नुपर्ने थियो त्यसो भएको पनि देखिँदैन । अहिलेको अवस्थामा कोरोना संक्रमणबाट नागरिकलाई जोगाउन सरकारले जसरी तयारी गरेर अघि बढ्नुपर्ने थियो, त्यसो हुन सकेको छैन, सरकार अहिले पनि अलमलको अवस्थामा देखिन्छ । अन्य दलले पनि सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा जसरी सहयोग र दबाब दिनुपर्ने थियो त्यसो भएको पनि देखिँदैन । अहिले सत्ता पक्ष र विपक्षीहरु सत्ता जोगाउने र सत्ता परिवर्तन गर्ने खेलमा लिप्त भएको देखिन्छ । राज्यका नियामक निकाय पनि मुकदर्शक बनेर बसेका छन् । नागरिकस्तरमा जुन प्रकारको चेतना हुनुपर्ने हो, त्यो देखिँदैन ।

कोरोना संक्रमणलाई खास केही होइन भन्ने प्रवृत्ति मौलाउँदो अवस्थामा रहेको छ । यसले समाजमा पारेको प्रभावबारे अहिलेसम्म कसैले पनि ध्यान दिन सकेको देखिँदैन । कोरोना संक्रमणविरुद्ध खोप आविष्कार भएर प्रयोगमा आए पनि कोरोना संक्रमणका नयाँं आयामहरु देखिएकाले यसले गर्ने असर भिन्न खालको हुनु स्वाभाविक छ । त्यसैले विश्वभर अहिले थप चिन्ता थपिदिएको छ । यस्तो अवस्थामा नागरिक पनि आफैं सचेत हुनुपर्ने हो, मास्क नलाई मेलापात गर्ने र एक–आपसको दूरी कायम नगर्ने व्यवहार सामान्य भएको छ । सरकारले यो गरेन ऊ गरेन भन्नु भन्दा पनि सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई पालना गर्न सके यस भाइरसले आक्रमण गर्ने सम्भावना न्यून हुने निश्चित छ । अहिले देखा परेको नयाँं भाइरसको लक्षण पनि नदेखिने र कडा खालको असर हुने बताइएको छ, राज्यले अहिले गरेको तयारी विगतको भन्दा पनि फितलो रहेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । सरकारले नागरिकको जिउधनको सुरक्षामा ध्यान नदिएकाले चिन्ता थपिँदै गएको छ । कोरोना संक्रमण फैलन नदिन सरकारले सचेतनाको कार्यक्रमलाई गाउंँस्तरमा लैजानुपर्ने र अन्तर्राष्ट्रिय सीमानाकामा कडाइ गर्दै अस्पताल, क्वारेन्टिन र आइसोलेसन सेन्टर विस्तारलाई तीव्रता दिनुपर्ने देखिन्छ ।

केन्द्र सरकारले प्रदेश र स्थानीय तहलाई जिम्मा लगाएर महामारी नियन्त्रणको जिम्मेवारीबाट उम्कने प्रयास गर्नुलाई दुःखद मान्नुपर्दछ । सरकारले कोरोना संक्रमण बढेपछि जारी गरेको स्वास्थ्य मापदण्डको पालना भएको देखिँंदैन, त्यसलाई पालना गराउन कडाइका साथ अगाडि आउनुपर्छ । अहिले पाँच जनाभन्दा बढी भेला हुन नपाउने, पार्टी प्यालेसमा २५ जनाभन्दा बढीको सहभागितामा सामाजिक कार्य गर्न नपाइने, सिनेमा हल तथा होटल रेस्टुरेन्ट पनि ८ बजेभन्दा बढी समय खोल्न नपाइने भनेर जारी गरेको निर्देशन पालना भएको देखिँदैन । स्वास्थ्य मापदण्ड जारी गरेपछि त्यसको कार्यान्वयन भएको छ कि छैन भनेर सरकारले अनुगमन गर्नुपर्नेमा त्यसो भएको पनि देखिँदैन । यसतर्फ सरकार दृढ भएर अघि बढ्नुको विकल्प छैन । आम नागरिकले पनि सरकारको यस कदममा ऐक्यबद्धता तथा सहयोग जनाउनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्