माधव नेपाल समूहद्वारा समानान्तर कमिटीको घोषणा


नेपाल समाचारपत्र, काठमाडौं ।

सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद समानान्तर कमिटी गठन गर्ने अवस्थासम्म पुगेको छ । पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको विशेष बैठक राखेर महासचिवबाहेक सबैको जिम्मेवारी खोस्दै अहिले भएकै कमिटीलाई निरन्तरता दिने निर्णय गरेलगत्तै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले असन्तुष्टि जनाउँदै समानान्तर कमिटी गठन गरेको छ ।

नेकपा एमालेका अध्यक्ष ओलीले शनिबार आफू पक्षीय नेताहरूलाई पदच्यूत गर्दै कमिटीहरू विस्तार गरेको भन्दै खनाल–नेपाल समूहले समानान्तर कमिटी गठन गर्ने घोषणा गरेको हो । उक्त समूहको शनिबार बसेकोे केन्द्रीय कमिटी बैठकले समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको छ ।सर्वोच्च अदालतको फैसलाले पार्टी ब्युँतिएसँगै माओवादी केन्द्रसँग औपचारिकरुपमा सम्बन्ध विच्छेद गर्दै खनाल–नेपाल समूह एमालेमा फर्किएको थियो ।बैठकले प्रदेश–१ को संयोजनको जिम्मा भीम आचार्र्य, प्रदेश–२ को घनश्याम भुसाल, प्रदेश–३ को अष्टलक्ष्मी शाक्य, प्रदेश–४ को सुरेन्द्र पाण्डे, ५ र ६ को युवराज ज्ञवाली र प्रदेश–७ को भीम रावललाई दिएको छ । त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको गोकर्ण विष्ट, प्रचार विभागको योगेश भट्टराई, महिला विभागको अष्टलक्ष्मी शाक्य र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिएको छ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हिम्मतका साथ अगाडि बढ्नुपर्ने समय आएको बताउनुभएको छ । उहाँले अहिलेको अवस्थामा केही पार्टी नेता तथा कार्यकर्तामा निरासा छाउन सक्ने भन्दै हिम्मतका साथ अगाडि बढ्न जोड दिनुभएको हो ।शनिबार बसेको आफू पक्षीय केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पार्टी जीवनमा अनेक अवस्था आए पनि आफूहरू कहिल्यै विचलित नहुने बताउनुभयो । उहाँले भन्नुभयो, अहिले अवस्था देखेर साथीहरूमा निरासा छाउला । केही होला कि भन्ने डर पनि होला । तर, हिम्मतका साथ अगाडि बढ्नुपर्छ । जनताको अपेक्षा र विश्वास छ । सैद्धान्तिक सोच र धारणाबाट हामी अगाडि बढ्नुपर्छ ।
उहाँले आन्दोलन कसरी अगाडि बढाउने भन्ने विषयमा पर्याप्त चिन्तनमनन् गरेर अगाडि बढनुपर्ने जिकिर गर्दै गलत प्रवृत्तिका विरुद्ध एकजुट हुने बेला आएको बताउनुभयो ।