सुकीलाई अवैध रूपमा नगद र सुन लिएको आरोप


यांगुन, (एजेन्सी) ।

म्यान्मारको सैनिक शासकले अपदस्थ प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अवैध रूपमा ६ लाख अमेरिकी डलर र सुन स्विकारेको अभियोग लगाएको छ । गत १ फ्रेबु्रअरीमा भएको सैनिक विद्रोहको क्रममा जननिर्वाचित सरकार लगायत सुकीलाई अपदस्थ गरिएयता उनीमाथि सेनाद्वारा लगाइएको आरोप र अभियोगहरूमध्ये यो सबैभन्दा ठूलो अभियोग भएको सञ्चार माध्यमले बिहीबार जनाएको छ ।

तर, सेनाले सुकीविरुद्धका यस अभियोग पुष्टि गर्ने खालका कुनै पनि प्रमाण पेस गरेको छैन । सैनिक विद्रोहको दौरान राष्ट्रपति विन मिन्ट र सुकीलगायत सुकीको नेसनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी) का थुप्रै वरिष्ठ नेतालाई सेनाले हिरासतमा लिएको थियो । गतवर्षको नोभेम्बरमा भएको आम निर्वाचनमा एनएलडी पार्टीले अत्यधिक बहुमतसहित सफलता प्राप्त गरेको थियो ।तर, सेनाले भने सो चुनावमा ठूलो धाँधली भएको आरोप लगाउँदै सत्ता आफ्नो हातमा लिएको थियो । तर, अन्तर्राष्ट्रिय चुनाव पर्यवेक्षकहरूले सो चुनावमा कुनै धाँधली र अनियमितता नभएको दाबी गरेका थिए ।

विद्रोहको नेतृत्व गरेका ब्रिगेडियर जनरल ज मिन टुनले राष्ट्रपति विन मिन्टलगायत अन्य थुप्रै मन्त्रीसमेत भ्रष्टाचारमा लिप्त रहेको अभियोग लगाएका छन् ।
सुकीविरुद्ध यसअघि नै अवैध सञ्चार उपकरण वाकीटकी आयात गरेको र साथमा राखेको आरोप लगाएको थियो । सेनाले सुकीलाई ४ लाख ५० हजार पाउन्ड बराबरका सुन अवैध ढंगले लिएको आरोप लगाएको हो ।सेनाले सत्ता कब्जा गरेयता म्यान्मारमा नियमितरूपमा सडक प्रदर्शन हुँदै आएको छ । यसै क्रममा ६० जनाभन्दा बढि व्यक्तिको ज्यान गइसकेको छ ।