म लड्नेवाला छु, छोड्नेवाला छैन : प्रचण्ड


काठमाडौं, (नेस) । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको बताउनुभएको छ । उहाँले संसद् विघटनविरुद्ध सर्वोच्चको फैसलाले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने षड्यन्त्र विफल भएको बताउनुभयो । प्रतिनिधिसभा पुनस्र्थापित भए पनि अझै पनि ठूल्ठूला षड्यन्त्र भइरहेको बताउँदै प्रचण्डले ठूलो त्याग र बलिदानीबाट प्राप्त परिवर्तनमाथि हमला भइरहेको बताउनुभयो ।

आफू फेरि एकपटक क्रान्ति गर्ने मनस्थितिमा रहेको बताउँदै उहाँले उमेर ढल्किँदै गए पनि अहिले आफू चुप लागेर नबस्ने घोषणा गर्नुभयो । ‘जनयुद्ध शुरु गर्दा ४२ वर्षको थिएँ, अहिले ६६-६७ वर्ष भएँ। उमेरले कति साथ दिन्छ छोडिदिनुपर्छ पनि भन्छन्, तर म छाड्नेवाला छैन, माओत्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए, म एकपटक फेरि क्रान्तिमा अगाडि जानेमा छु, म छोड्नेवाला छैन, म लड्नेवाला छु।’ –उहाँले भन्नुभयो ।प्रचण्डले युद्ध भनेर अहिले हिंसात्मक युद्ध गर्ने अवस्था नरहेको बताउँदै अहिले शान्तिपूर्ण युद्ध चलिरहेको बताउनुभयो । ‘योसँग मिले होला कि, त्योसँग मिले होला कि भनेर धेरै गरियो, तर आफ्नै धरातल छुट्दा अलिकति कमजोर त भयो मुलुकको राजनीतिक परिस्थिति जटिल र चुनौतीपूर्ण अवस्थामा छ।’ –उहाँले भन्नुभयो ।

पार्टी निर्माणका लागि फेरि अभियान चलाउने र काठमाडौं भन्दाबाहिर अभियानमा बस्ने सोचमा आफू रहेको बताउँदै प्रचण्डले आफू फेरि दुई चार वर्ष जनताको बीचमा जाने सोचिरहेको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनपछि षड्यन्त्र गरेपछि आफूले त्यसको विरोध गरेको बताउँदै भन्नुभयो– ‘मैले केपी प्रवृत्तिसँग सम्झौता गर्नु भनेको हाम्रो सम्पूर्ण चिज ध्वस्त हुने देखेपछि म अब फेरि जेल जान पनि तयार मर्न पनि तयार तर यो प्रवृत्तिमाथि प्रहार गर्नैपर्छ भनेर गरेको हो।’