बंगलादेशमा पहिलो तेश्रोलिंगी समाचार वाचिका


ढाका, (एजेन्सी) ।

सबैको हेपाहा प्रवृत्ति, उत्पीडन र र आत्महत्या प्रयासबाट समेत बाँचेकी एक तेश्रोलिंगी बंगलादेशको पहिलो समाचार वाचिका बनेकी छन् । अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सोमबार २९ वर्षिया तास्नुभा अनान शिशिरले एउटा निजी टेलिभिजना स्टेसनमा तीन मिनेट लामो न्युज बुलेटिन वाचन गरेकी छन् । उनले आफ्नो जीवन अध्ययन र आफ्नो क्यारियर अघि बढाउने दृढतासहित अघि बढाएकी थिइन् । उनले अन्ततः आफूले प्लेटफर्म भेटाएको बीबीसी बंगालीका पत्रकार नाजिब बाहारलाई बताएकी छन् ।

बंगलादेशमा रहेका करिब १५ लाख तेश्रोलिंगीले भेदभाव र हिंसा झेल्दै आएका छन् । तिनीहरू मागेर वा यौन पेसामा लागेर बाँच्न बाध्य छन् । किशोरावस्थाका शुरूमा मात्र उनले आफू तेश्रोलिंगी भएको महशुस गरेकी थिइन् । शिशिरले पनि मानसिक र यौनिक यातना दुवै भोगेकी छन् । उनले आफ्नो परिवारबाट समेत आफू प्रताडित भएको र आफ्नो पिताले बोल्नसम्म छाडेको बताउँछिन् ।

जसका कारण उनी आफ्नो गृहनगरबाट भागेर राजधानी ढाका र नारायणगञ्जमा बस्न थालेकी थिइन् । समाचार पढ्न सकेपछि उनलाई उनका थुप्रै साथीहरूले शुभकामना तथा बधाई दिएका थिए । उनले थुप्रै यातना र अपहेलना झेलेर पनि ढाकाको एक विश्वविद्यालयबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर उपाधि हासिल गर्न सफल भएकी थिइन् ।