सर्वोच्चमा ४३ थान भ्रष्टाचारका मुद्दा स्थगित

१० वर्ष पुरानोसमेत सुनुवाइ भएन


नेपाल समाचारपत्र, काठमाडौं  ।

सर्वोच्च अदालतमा मंगलबार भ्रष्टाचारका ४३ थान मुद्दा स्थगित गराइएको छ । त्यसमध्ये १० वर्ष पुराना मुद्दासमेत स्थगितमा परेका छन् । न्यायाधीशहरु मीरा खड्का र कुमार रेग्मीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको भए पनि पक्ष र विपक्षीले ४३ थान भ्रष्टाचारका मुद्दा स्थगित गराएका हुन् ।स्थगित भएकामध्ये कर्मचारी सञ्चय कोषलाई हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको भनी तत्कालीन अवस्थामा उपल्लो पदमा रहेका दिनेशनाथ चालिसेसँग सम्बन्धित मुद्दा पनि छ । सो मुद्दा २०६८ साल असोज ३० गते सर्वोच्चमा पुनरावेदनको रुपमा दर्ता भएको थियो ।

कर्मचारी सञ्चय कोषको रकम हानिनोक्सानी भएको आरोप लगाई २०६८ सालमा नै दर्ता भएका सम्बन्घित कर्मचारीहरु किशोर बाँस्कोटा, ठाकुरप्रताप थापालगायतसँग सम्बन्धित मुद्दा पनि स्थगितमा परेका छन् । ती मुद्दाहरु २०६८ सालका विभिन्न महिनामा सर्वोच्चमा दर्ता भएका थिए ।भ्रष्टाचार गरेको भनी आरोप लागेका तत्कालीन अवस्थामा विभिन्न निकायमा कार्यरत कर्मचारीहरु प्रभुनन्दन साह, धीरेन्द्र नापित, हरिदत्त शाह, बलदेव मण्डल, पुण्यप्रसाद पोखरेल र भुवन सिंह थापासँग सम्बन्धित मुद्दा पनि सुनुवाइ हुन सकेन । यी कर्मचारीसँग सम्बन्धित मुद्दा सर्वोच्चमा २०७० सालमा दायर भएका हुन् ।दर्ता भई पाँच वर्षसम्म पनि अन्तिम सुनुवाइ हुन नसकेको भ्रष्टाचार गरी सरकारलाई हानिनोक्सानी पु¥याएको भनी आरोप लागेको तत्कालीन अवस्थामा सरकारी कर्मचारी रहेका राजेन्द्र महर्जनसमेत ८ जनाविरुद्धको मुद्दा पनि स्थगित गराइएको छ । सो मुद्दा २०७३ साल भदौ ७ गते सर्वोच्चमा दर्ता भएको थियो ।

न्यायाधीशहरु खड्का र रेग्मीकै इजलासमा रहेका २५ थान मुद्दा भने सरकारी र आरोपित दुवै पक्षबाट स्थगित गराइएका छन् । दुवै पक्षबाट स्थगित गराइएका मुद्दामा कूटनीतिक राहदानी दुरुपयोग गरी भ्रष्टाचार गरेको भनी आरोप लागेका गोपाल बानियाँसमेत ११ जना, विश्वनाथप्रसाद यादवसमेत १४ जना, तत्कालीन सांसद गायत्री साह र रमेश लम्सालसमेतसँग सम्बन्धित छन् ।सार्वजनिक निकायमा कार्य गरी भ्रष्टाचार गरेको भनी आरोपितहरु भूमिनन्द भण्डारी, इन्द्रकुमार सुनुवार, देवेन्द्र पौडेल, डिलबहादुर घर्ती, श्यामबाबु भण्डारी, मनोजकुमार कार्की, शिवपुजन राय यादव, देवीदत्त खत्री, शंकरप्रसाद आचार्य, रामजिनिस राउत बरैसमेत चार जनाका मुद्दा पनि स्थगितमा परेका छन् ।

सरकारी रकम हिनामिना गरेको भनी आरोप लागेको सोन्फी दास र अशोककुमार यादवका मुद्दासमेत सरकारी पक्षबाट स्थगित गराइएको छ । सरकारी कागजात सच्याएको भनी आरोप लागेका वाल्मीकि गुप्ताको मुद्दासमेत स्थगित भएपछि सुनुवाइ भएन ।सर्वोच्च अदालतका एक कर्मचारीले भ्रष्टाचारका यस्ता मुद्दाहरु धेरैपटक स्थगित गर्न दिने हो भने पुराना मुद्दाहरु थुप्रिन गई मुद्दाको संख्या धान्नै नसक्ने हुन सक्ने बताए ।