एमाले र माओवादी केन्द्र ब्युँताउने जानकारी प्रदेश सभामा


काठमाडौं,नेस ।

निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसलाअनुरुप नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने जानकारी बुधबार प्रदेश सभामा पठाएको छ ।आयोगले प्रदेश सभामा कायम रहेको नेकपा सर्वोच्चको आदेशले खारेज भएको र नेकपा एमाले तथा माओवादी केन्द्र नै कायम रहेको भन्दै पत्र पठाएको हो । नेकपाका ६७ सदस्य रहेको १ नं प्रदेशसभामा एमालेमा ५१ र माओवादी केन्द्रमा १६ जना कायम भएका छन् ।

यसअघि नेकपाका ३७ जना सदस्यले मुख्यमन्त्री राईविरूद्ध पुस १२ गते अविश्वास प्रस्ताव दर्ता गरेका थिए । सो प्रस्ताव लामो रस्साकस्सीपछि फागुन ९ गते टेबल भएको थियो । प्रस्ताव छलफलमा जान नपाउँदै एमाले र माओवादी ब्युँतिएपछि मुख्यमन्त्री शेरधन राईले राहत महसुस गर्नुभएको छ ।सो अविश्वास प्रस्तावमा माओवादीका १५ र एमालेका २२ जनाको हस्ताक्षर थियो । एमालेका ६ जनाले हस्ताक्षर फिर्ता गरिसकेका छन् ।

दल अलग भएपछि अविश्वासको प्रस्तावमा कानुनी जटिलताहरु देखिएको र समाधानका लागि कानुनी परामर्श गरिरहेको छ ।सरकारलाई गरेको समर्थन माओवादी केन्द्रले औपचारिकरुपमा फिर्ता नगरेसम्म सत्ता पक्षकै बेन्चमा रहने संसदीय चलन छ । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएको खण्डमा भने प्रदेशसभामा उनीहरुको बस्ने व्यवस्था पनि अलग्गै राख्ने प्रदेशसभा सचिवालयले तयारी गरिरहेको छ ।