यही सरकारलाई टिकाउन लाग्छौं: वरिष्ठ नेता खनाल


काठमाडौं, (नेस) । 

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरु यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउन लाग्ने बताउनुभएको छ । पार्टी पुनःस्थापित भएकाले अब संसद्मा हुन सक्ने विभिन्न खेलतिर नलागी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई टिकाउन लाग्ने बताउनुभएको हो ।

प्रतिनिधिसभाको बुधबारको बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री खनालले यही सरकारलाई निरन्तरता दिने विषयमा आफूहरु केन्द्रित भएर लाग्ने बताउनुभयो । एमाले र माओवादी केन्द्रबीचको एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अदालतको फैसलाबाट खारेज भएको थियो ।त्यसै गरी नेकपा नेता सुवासचन्द्र नेम्वाङले पार्टीमा असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिने बताउनुभएको छ । एमाले र नेकपा माओवादी केन्द्रबीचकोे एकता भई बनेको नेकपा अदालतको फैसलाबाट खारेज भएकाले एमालेमा फर्कने सबैका लागि सम्मानजनक व्यवहार गरिने स्पष्ट गर्नुभयो ।

उहाँले जनता समाजवादी पार्टीसँग उसका मागका विषयमा छलफल भए पनि सत्ता साझेदारीबारे हाल कुरा नभएको बताउनुभयो । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधनलगायत आफ्ना माग पूरा भएमा मात्रै सत्ता साझेदारीबारे सोच्न सकिने बताउनुभएको छ । बैठकबाट बाहिरिने क्रममा उहाँले वर्तमान सरकारसँग माग पूरा गराउने सर्तसहित शुरुमा सहमति गरिएकामा पूरा नभएपछि समर्थन फिर्ता लिइएको स्मरण गराउँदै ती मागबारे सबै पक्षसँग छलफल हुने जनाउनुभयो ।

जसपाले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तालाई लगाइएका मुद्दा फिर्तालगायत माग सम्बोधन भए सरकारमा जान सकिने बताएको छ । एमाले र जसपाबीच सत्ता साझेदारको विषयमा छलफल गर्न चार सदस्यीय वार्ता टोली गठन गरेको छ ।

(