ललितपुरको कुमारी निवास पुनःनिर्माण हुने


ललितपुर ।

ललितपुर महानगरपालिका–१६ मा रहेको कुमारी निवास पुनःनिर्माण हुने भएको छ । रत्नाकर महाविहारका सदस्य करुणारत्न बज्राचार्यले कुमारी निवास पुनःनिर्माण गर्न लागिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कुमारीलाई पूजा गरिने कुमारी छें अर्थाक कुमारी घर गोरखा भूकम्पले जीर्ण बनाउँदा संरक्षण गर्ने कुरा अघि बढेको छ ।” महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भारत सरकारको अनुदानमा रु चार करोड ५५ लाखमा उक्त काम अघि बढाइने भएको बताउनुभयो ।उहाँले भन्नुभयो,“सो घर निर्माण हुने भएसँगै कुमारीलाई भने नजिकै रहेको रत्नाकर महाविहारमा राखेका छौं ।” कुमारीलाई महालक्ष्मीका साथै महादेवीका रुपमा पुजिने गरिएको बज्राचार्यले जानकारी गराउनुभयो ।

लिच्छविकालीन समय गुणकामदेवको पालादेखि ललितपुरमा कुमारी स्थापना गर्ने चलन रहेको बज्राचार्यको भनाइ छ । कुमारीलाई मन्दिर बनाएर शिलामा जीवित देवीका रुपमा समेत पुज्ने गरिन्छ । नेवार समुदायका मानिसले कुमारीलाई हरेक वर्ष रातो मच्छिन्द्रनाथ जात्राका साथै बुद्धजयन्ती अनि ठूला ठूलामा जात्रामा पनि पुज्ने गर्छन् । सरकारले पहिचान गरेका २८ सांस्कृतिक सम्पदाको संरक्षण र पुनःनिर्माण अन्तर्गत सो कुमारी निवास र कुमारी छें संरक्षणमा ध्यान दिइएको हो ।