एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आग्रह


सुनील महर्जन, काठमाडौं ।

निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविकको अवस्था कायम रहेको जनाउँदै फेरि एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ ।मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको नेकपा खारेज भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो ।

यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नयाँ पार्टीलाई निर्वाचन आयोगले २०७५ जेठ २३ गते नेपाल कम्युनिस्ट पार्टी ९ने क पा० नाममा दर्ता गरेको थियो । तर सर्वोच्च अदालतले गत आइतबार नेकपाको नाम निर्वाचन आयोगमा पहिले नै दर्ता भएको पार्टीसँग मिल्दोजुल्दो भएको भन्दै खारेज गरेको थियो ।आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि नेकपा खारेजीसँगै दल साविकको अवस्थामा कायम रहेको जानकारी दिने पनि जनाएको छ । आयोगले राजपत्रमा पनि खारेजीको सूचना प्रकाशित गर्ने भएको छ ।

‘साविकमा राजनीतिक दलका रूपमा रहेको नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग राजनीतिक दलका रूपमा साविककै अवस्था २०७५ जेठ २३ भन्दा अघि रहेको सूचना प्रकाशत गर्ने’ आयोगको निर्णयमा भनिएको छ ।सर्वोच्चको फैसलाबारे छलफल गर्न बसेको आयोगको बैठकले अब एकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ विपरीत नहुने गरी दुवै दलले आ–आफ्नो केन्दीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको नाम र चिन्हसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको छ ।

आयोगको बैठकले नेकपा एमाले र माओवादी केन्द्र कायमै रहेको सूचना संसद् सचिवालय र सातवटै प्रदेशसभालाई दिने निर्णय पनि गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोगको पत्रसँगै अब संसद् सचिवालयले छुट्टाछुट्टै दलका रूपमा एमाले र माओवादी नेताहरूको सिट व्यवस्थापन गर्नुपर्नेछ । उनीहरूको बस्ने ठाउँ फरक हुनेछ ।त्यस्तै आयोगले एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि खाली भएको ती नाममा दल दर्ता गर्नेहरुलाई पनि नयाँ नाम १५ दिनभित्र दल दर्ता गर्न आग्रह गरेको छ । आयोगमा सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमाले र गोपाल तिवारी अध्यक्ष रहेको माओवादी केन्द्र दर्ता भएको छ । आयोगमा दर्ता भएका राजनीतिक दलको सूचीमा १२५औं स्थानमा माओवादी केन्द्र र १३२औं स्थानमा एमाले दर्ता छ । माओवादी केन्द्रले चुनाव चिन्ह गोलाकारभित्र हँसिया हथौडा लिइसकेको छ । एमालेले सूर्य चिन्ह पाएको छैन ।