फुटपाथमा किनिएको कचौराको मूल्य ५ लाख डलर


वासिङ्टन, (एजेन्सी) ।

अमेरिकाको एउटा फुटपाथमा मात्र ३५ डलरमा किनिएको चिनियाँ माटोबाट बनेको एउटा सानो कचौराको वास्तविक मूल्य ३ देखि ५ लाख डलरसम्म पर्ने वास्तविकता खुलेको छ । सो कचौरा पन्ध्रौं शताब्दीको दुर्लभ वस्तु भएको पुष्टि भएको छ ।

एकजना नाम नखुलाइएका पुरुषले गत वर्ष अमेरिकाको नयु हयाभन नजिक बाटोछेउमा कचौरा किनेका थिए । पछि उनले सोडवाई लिलाम गृहलाई त्यसको तस्वीर खिचेर पठाउँदै भाउ मूल्याकन गर्न अनुरोध गरेको दि एसोसियटिड प्रेसले जनाएको छ ।लामो अध्ययन र अनुसन्धानपछि सोडवाइले त्यो मिङ वंशिय सम्राटको पालाको र अहिले त्यसको मूल्य ३ देखि ५ लाख डलर पर्ने घोषणा गरेको हो ।

सोडवाइले यसलाई यसै महिनाको उत्तराद्र्धमा न्युयोर्कमा आयोजना हुने महत्व पूर्ण चिनियाँ कलाकृतिको लिलाममा राखिने जनाएका छन् । सोडवाईका वरिष्ठ उपाध्यक्ष एन्जेला म्याकएटिरले अहिलेसम्म संसारमा अन्य पाँचवटा यस्तै कचौरा रहेको बताएकी छन् । दुईवटा ताइवानको ताइपेइस्थित ’नेसनल प्यालेस म्युजियम’मा, दुईवटा लन्डनका म्युजियमहरूमा तथा एउटा तेहरानस्थित ‘नेसनल म्युजियम अफ इरान’मा रहेको बताइएको छ ।