फेरि एमाले–माओवादी गठबन्धनको गृहकार्य


काठमाडौं, (नेस) ।

सर्वोच्च अदालतले तत्कालीन एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने फैसला गरेसँगै पुनः दुई पार्टीबीच गठबन्धन बनाएर सरकार गठनको गृहकार्य अगाडि बढेको छ । नेकपा एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल संकटमा परिरहेको बेला पुनः दुई पार्टीको गठबन्धनको गृहकार्य अगाडि बढेको हो ।सर्वोच्च अदालतको फैसलापूर्व नै एमालेका नेताद्वय घनश्याम भुसाल र शकंर पोखरेलबीच एकताको विषयमा संवाद भएको थियो । नेताहरुबीच विभिन्न विकल्पमा छलफल अगाडि बढेको एक नेताले बताए । सर्वोच्चको फैसलासँगै एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बलियो हुनुभएको छ ।

संसदीय दलमा झन्डै दुई तिहाइ बहुमतमा रहनुभएका ओली केन्द्रीय कमिटीमा पनि बहुमत पु¥याउने खेलमा रहनुभएको छ । एमालेको १२० जना सांसद रहेकोमा माधव नेपाल पक्षमा ४० जना मात्र सांसद रहेका छन् । केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष बराबरीको अवस्थामा भए पनि संसदीय दलमा अल्मतमा हुँदा पार्टी विभाजन हुने सम्भावना तत्कालका लागि टरेको छ ।पार्टी विभाजित गर्नका लागि नेपाल पक्षसँग संसदीय दल र केन्द्रीय कमिटी बैठकमा ४० प्रतिशत बहुमत पुग्ने अवस्था छैन । एमालेमा भए पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको सहकार्यमा रहेका छन् ।नेपाल पक्षका नेताहरु संकटमा परिरहेका बेला अहिलेको संकट टार्नका लागि प्रधानमन्त्री ओली र नेपाल पक्षका दोस्रा तहका नेताहरु परामर्शमा जुटेका छन् । नेपाल पक्षका एक नेताले भने– ‘दुई पार्टी अलग भएको अवस्थामा अहिलेको पार्टी जोगाउन र कार्यकर्ताको मनोबल उच्च बनाउन दुई पार्टीबीचको गठबन्धन बनाउनुपर्छ भन्ने विषयमा छलफल अगाडि बढेको छ ।’

उनका अनुसार तत्काल प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिने र ओली पक्षबाटै पुनः प्रधानमन्त्री बनाउन सकिने गरी परामर्श शुरु भएको छ । प्रधानमन्त्री ओलीले राजीनामा दिन तयार भएको अवस्थामा दुई पार्टीको गठबन्धनमा पुनः वाम गठबन्धनकै सरकार गठनमा दोस्रा तहका नेताहरु सक्रिय बनेका छन् ।सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड–नेपालको समूहको अन्तिम स्थायी समिति बैठकले पनि पार्टी एकतालाई नयाँ शिराबाट शुरू गर्ने निष्कर्ष निकालेको छ । नेकपाका स्थायी समिति सदस्य रघुजी पन्तले पार्टी एकताको विषयमा फेरि छलफल गर्नुपर्ने बताउनुभयो ।

असहमति भए पनि सर्वोच्च अदालतको फैसला सम्मान गर्नुपर्ने बताउँदै बैठकबाट बाहिरिने क्रममा नेता पन्तले भन्नुभयो– ‘सर्वोच्चको फैसला राजनीतिक प्रकृतिको भयो, दुई पार्टीबीचको एकता लोकतन्त्रको सुदृढिकरणका लागि, सार्वभौम एकताको लागि भएकाले यसलाई जोगाएर जानुपर्छ ।’ उहाँले पुनः प्रचण्ड र ओलीले एकतालाई अगाडि बढाएर लैजानुपर्नेमा जोड दिनुभयो ।