माइती गाउँमा १५ लाखको अक्षयकोष


दुर्गाप्रसाद शर्मा, पर्वत ।

माइती गाउँमा आएको समयमा पहिरोमा परि ज्यान गुमाएकामध्ये दुई जनाको सम्झनामा अक्षयकोषको स्थापना गरिएको छ।दुर्लुङ माइतीघर भई बागलुङको जैमिनी नगरपालिकामा विवाह गरेकी दीर्पा थापा र उनका छोरा विवेकको सम्झनामा १५ लाखको अक्षयकोष स्थापना गरिएको हो।

गएको जेठ ३१ गते पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङ्ग ढकालबारीमा गएको पहिरोमा परि दुई आमा छोराको मृत्यु भएको थियो । माइती आएको बेलामा दुःखद घट्नामा परेका कारण माइती गाउँमा देशभित्र र बाहिर रहेका दुर्लुङबासी तथा पर्वतेलीहरूको सहयोगमा १५ लाख रूपैयाँको ‘दिर्पा विवेक अजर अमर अक्षयकोष’ स्थापना गरिएको अक्षयकोषका अभियान्ता बिरोधबिक्रम गुरूङ्गले बताउनुभयो । अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट प्राकृतिक वा अन्य दुर्घटनामा परी मृत्यु भएका, घाइते बनेका लगायत त्यसबाट पीडितहरूलाई राहत दिने लक्ष्य रहेको गुरूङ्गले जानकारी दिनुभयो । ‘ माइती आएको बेलामा चेली र भान्जाले ज्यान गुमाउनुपरेको कुराले सबैको मन स्मृतिमा अक्षयकोष बनाउने निर्णय गरको हौ।’ उहाँले भन्नुभयो ‘उहाँहरूको स्मृतिमा कोष निर्माण गरिएपछि सधै सम्झने अवस्था आउने छ।’

दुर्लुङ्गको पहिरोमा परी नौ जनाको मृत्यु भएको थियो। उहाँहरूको निधनले अझैं पनि कसैका आँखा ओभाना छैनन्। आकाशमा बादल मडारिएको दिनमा यहाँका नागरिकको सातो जाने गरेको छ । पहिरोमा पुरिएका र घर गुमाएका परिवारको सहयोगका लागि लाखौ रूपैयाँ संकलन भैरहेको बेला सामाजिक सञ्जालबाट स्मृति कोषको अभियान पनि सञ्चालन गरिएको थियो । कोषका लागि हालसम्म दुई सय १५ जनाले चन्दा सहयोग गरेर आजीवन सदस्य बनेका छन्। कोषबाट प्राप्त हुने ब्याजबाट सुरूवाती चरणमा दुर्लुङ र आसपासका पीडितहरूलाई सहयोग गर्ने उद्देश्य राखिएको भए पनि यसमा रकम बढाउँदै जाने र क्षेत्र पनि फराकिलो बनाउने योजना रहेको गुरूङ्गले बताउनुभयो ।

कोषको गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले औपचारिक शुभारम्भ गर्नुभयो । आर्थिक अवस्था कमजोर रहेको र दीर्घ रोगबाट पीडित रहेका दुर्लुङकै तीन जना टिका शर्मा, राजेश नेपाली र सविना गुरूङको परिवारलाई उनीहरूको उपचारमा रकम खर्चिन जनही पाँच हजार रूपैयाँका दरले आर्थिक सहयोग गरिएको छ । सो अवसरमा बोल्दै मन्त्री लम्सालले प्राकृतिक विपत्ति कसैको नियन्त्रणमा नहुने भएकोले यसलाई सहन गर्नुको विकल्प नहुने बताउनुभयो । विपदमा परेको बेलालाई स्मरण गरेर दुर्लुङबासीले थालेको अभियानले अब यस्तै दुर्घटनामा पर्ने धेरैलाई राहत दिन तथा उद्धारमा सघाउन सजिलो हुने उहाँको भनाइ थियो ।