पुनःस्थापित संसद्ले गहन जिम्मेवारी दिएको छ : सभामुख सापकोटा


काठमाडौं, (नेस) ।

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट पुनः क्रियाशील भएको प्रतिनिधिसभाको सातौं अधिवेशनको पहिलो बैठकमा सांसदहरूलाई स्वागत गर्दै त्यस निम्ति योगदान गरेका सम्पूर्ण निकायमा बधाई ज्ञापन गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो लिखित मन्तव्यमा उहाँले लोकतन्त्रको सार्वभौम मान्यता, संविधानको मर्म र भावनाअनुसार प्रतिनिधिसभालाई पुनःस्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सर्वोच्च अदालतप्रति आभार प्रकट गर्नुभयो ।

उहाँले जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने सर्वोच्च थलो पुनः स्थापित गराउन योगदान गर्ने सबैलाई बधाई ज्ञापन गर्नुभयो । ‘ऐतिहासिक फैसलाका लागि सम्मानित सर्वोच्च अदालतप्रति आभार प्रकट गर्दछु । यस ऐतिहासिक फैसलाबाट संविधान र कानुनको अन्तिम व्याख्या गर्ने संवैधानिक अधिकार प्राप्त सर्वोच्च अदालतप्रति आमजनताको भरोसामा वृद्धि भएको छ।’ –सभामुख सापकोटाले भन्नुभयो । उहाँले फागुन ११ सँगै आजको दिन पनि इतिहासमा स्मरणीय रहने बताउँदै संविधानले शक्तिपृथकीकरणको सिद्धान्तलाई अवलम्बन गर्दै शक्ति सन्तुलन र नियन्त्रणसहित संवैधानिक सर्वोच्चता स्वीकार गरेको र प्रतिनिधिसभाको पुनः क्रियाशीलतासँग यो मान्यता अझ स्थापित भएको बताउनुभयो ।

सभामुख सापकोटाले संवैधानिक व्यवस्थाअनुसार संघीय संसद्को सातौं अधिवेशन शुरु गर्न गृहकार्य चलिरहँदा अप्रत्यासित रुपमा गत पुस ५ गते प्रतिनिधिसभा बैठक अवरुद्ध गरिएको स्मरण गर्दै प्रतिनिधिसभा पुनः क्रियाशील भएसँगै हामीमाथि इतिहासले केही गहन जिम्मेवारी दिएको बताउनुभयो ।
सर्वोच्च अदालतको फैसला