प्रज्ञा नेपाली लोककथा प्रकाशित


काठमाडौं, (नेस) ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली लोककथा’ नामक कृति प्रकाशन गरेको छ । पछिल्लो समयमा ऐतिहासिक महत्त्व राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशन गर्दै आएको प्रज्ञा–प्रतिष्ठानले यस कृतिमा नेपालका सातओटै प्रदेश, ७७ ओटै जिल्ला, बहुसङ्ख्यक जाति र दार्जिलिङदेखि म्यान्मा (बर्मा) सम्मका नेपाली लोकजीवनमा प्रचलित लोककथाहरूलाई एकै ठाउँमा समेट्ने काम गरेको छ ।
साहित्य विभागका प्रमुख प्राज्ञ डा. देवी नेपाल सम्पादक रहेको ‘प्रज्ञा नेपाली लोककथा’ नेपालको परिवर्तित सङ्घीय संरचनाअनुसारको प्रादेशिक योजनाअनुसार तयार गरिएको कृति हो । यसका साथै नेपाली भूगोलभन्दा बाहिर रहेको नेपाली लोकजीवनले पनि नेपाली लोकसाहित्यमा विशेष महत्व राख्ने हुनाले यस कृतिमा नेपालको भौगोलिक सीमाभन्दा बाहिरका नेपाली लोककथाहरूलाई पनि समेटिएको हो ।
२०३२ सालमा तुलसी दिवसको ‘नेपाली लोककथा’ प्रकाशन भएपछि लोककथाका केही फुटकर कामहरू भए पनि प्रज्ञा–प्रतिष्ठानबाट योजनाबद्ध तरिकाले लोककथाको खोजी गर्ने कार्य हुन सकेको थिएन । यसपटक भने नेपाली अनुभूतिहरू एकै प्रकारका हुने र जीवन शैलीमा समेत सामीप्य देखिने भए पनि कुनै न कुनै स्थानीय बिम्ब, स्थानीय किम्बदन्ती र स्थानीय रङलाई समेटेर त्यहाँको लौकिक जीवनभित्रको मौलिकतालाई खोज्ने प्रयाससहित योजनाबद्ध तरिकाले लोककथाको सङ्कलन कार्य गरिएको जानकारी कृतिका सम्पादक प्राज्ञ नेपालले दिनुभएको छ ।

यस कार्यका लागि डा. देवी क्षेत्री दुलाल (१ नं. प्रदेश), गोपाल अश्क (२ नं. प्रदेश), शीलत गिरी (बागमती प्रदेश), प्राडा कुसुमाकर न्यौपाने (गण्डकी प्रदेश), हरिप्रसाद तिमल्सिना (लुम्बिनी प्रदेश), कालीबहादुर शाही (कर्णाली प्रदेश), डा. पुष्करराज भट्ट (सुदूरपश्चिम प्रदेश) प्रादेशिक जिम्मेवारीका साथ लोककथा सङ्कलनका लागि लाग्नुभएको थियो । उहाँहरूले लोककथाको सङ्कलन कार्यमा सम्बन्धित प्रदेशका सबै जिल्ला र सकेसम्म सम्बन्धित क्षेत्रको जातीय विविधता र सांस्कृतिक विविधतालाई पनि समेट्नुभएको छ ।

यसरी नै सीमापारिका नेपाली लोककथाको सङ्कलन कार्यमा नरबहादुर दाहाल, अर्जुन प्रधान, अजम प्रधान र रीता ठकुरी (दार्जिलिङ), प्रा. तेजमान बराइली र सुकराज दियाली (सिलिगुढी), प्रदीप गुरुङ (कालेबुङ), पुष्प शर्मा, भक्ति शर्मा र जीविका अश्रु (सिक्किम), डा. खेमराज नेपाल, खगेन्द्र आचार्य र भीम धमला (असम), राहुल राई ‘बोगिको’ (मणिपुर) र पं. बालकृष्ण रिजाल (म्यान्मा) को विशेष भूमिका रहेको प्रज्ञा–प्रतिष्ठानले जनाएको छ ।नेपालभित्रका १५६ र नेपालबाहिरका २८ गरी जम्मा १८४ ओटा लोककथा समेटिएको ५६८ पृष्ठ र ५८० मूल्य रहेको ‘प्रज्ञा नेपाली लोककथा’ हाल नेपाल प्रज्ञा–प्रतिष्ठानमा भइरहेको पुस्तक प्रदर्शनीमा समेत उपलब्ध छ ।