फैसलापछि नेपाली राजनीतिको मध्यान्तर


पेशल आचार्य

‘नेपालमा नहुने भन्ने कुरो केही नै रहेन अब । रहँदा-बस्दा एकसिटे सांसद प्रधानमन्त्री हुने वातावरण तयार हुन सक्छ । बिहान पारिलो घाममा आफैँले बाँधेको खसी बेलुकी मजाले भुक्यो भने यहाँ अचम्म नमान्दा हुन्छ ।’ एकजना जुझारू युवाको भनाइबाट लेख आरोहण गर्न मन लागेको छ आज ।

नेपालमा युवाहरूलाई सबै राजनीतिक शक्तिहरूले बाइपास गरिरहेका छन् । उनीहरूको अनन्त ऊर्जाको नजरअन्दाज गरिरहिएको छ । त्यसैले ६० लाख युवाहरू विदेश भासिएका छन् । तिनीहरूकै रगत–पसिनाले निखनेका करहरूमा तर मारेर सत्तरी काटेका नेताहरू सबै पार्टीमा राइँदाइँ मच्चाइरहेका छन् । कम्तीमा संसद् पुनस्र्थापना प्रतिगमन होइन भने अब युवाहरूको ससम्मान राजनीतिमा आगमन हुनुपर्छ । नत्र युवाले हरेक पार्टीका बूढा नेताहरू लखेटेर आक्रामक उपस्थिति आ–आफ्नो पार्टीमा बनाउँदै जानुको कुनै विकल्प छैन ।सम्भावनाको खेल भनिएको राजनीतिमा के गर्न हुने, के गर्न नहुने भन्ने कुनै सीमान्त नियम नहुने रहेछ । गएको पुस ५ गतेयता फागुन ११ गते दिउँसोसम्म नेकपाका दुई बूढा नेताहरू एक–अर्कालाई गाली गर्दाका अवस्थामा आफ्ना भएभरका सबै वस्त्रादिहरू खोलिरहेका थिए ।छि ! छि ! छि ! स–साना केटाकेटीहरूले टेलिभिजनमा ओली र प्रचण्डका भाषणहरूबाट के सिके होलान् ? तिनीहरूका गुट-उपगुट वा आफ्नो क्याडरबाहेकमा आमजनमानसमा कस्तो प्रभाव प¥यो होला ? अब के ती सामान्य भोटरहरूले यी बूढाहरूका पार्टीहरूलाई उदात्त दिलले भोट देलान् त ? प्रसिद्ध कार्टुनिस्ट रविन सायमीले बनाएको एक चर्चित कार्टुनमा ‘एकदिनको भाषणमा कुनै अमुक नेताले भाषण गरिरहेका बेला जनता जनार्दनका स्थानमा मञ्चका वरिपरि र यत्रतत्र र सर्वत्र चम्चै चम्चाहरूको उपस्थिति देखाएका थिए ।

कलाकारले देखाउन खोजेको अन्तर्यले भन्थ्यो कि जिल्ला–जिल्लाबाट मासुभात खुवाएर पैसासमेत दिई बसमा भेडाबाख्राझैँ कोचेर ल्याइएका ती मानिस कम बढी ‘चम्चा’ थिए ।त्यसैले भाषणबाट कोही जनमानस सन्तुष्ट भएनन् । ‘यो नाटक हो, होइन यो नौटङ्की हो’ भन्नेजस्ता सवालजवाफहरू देखिए । दोहोरी खेल्न कुनै रहनीको कमी भएन । नेताहरू भनेका दुई कौडीका मानस भएका दोपाया रहेछन् भन्ने सन्देश बाहिर गयो । दिनमा तीनथरी बोली बोल्ने नेताहरूको कुन समयको बोली पत्याउनु? नागरिकहरू नै रनभुल्लमा परे । बिहान चियाको चुस्कीसँगै एकथरी अभिव्यक्ति, दिउँसोको खानामा मिलाएर अर्कोथरी लोली र बेलुकीको सोमरससँगै कटाक्ष गाली देखेर नेपाली राजनीतिमा दर्शनको दाउन सकिएको कि त बएलिएको भान भयो ।प्रतिगमनका नायिके भनिएका खप्रओ अर्थात् कामचलाउ प्रधानमन्त्री ओली अनि अर्का प्रतिगमनका मतियार भनिएकै पुष्पकमल दाहाल र माधवकुमार नेपाल तीनवटै स्थुल मनुवाहरूलाई बुद्धिजीवीहरूले प्रतिगमनका खलनायक भनेर प्रमाणित गरिसकेका छन् । ओलीलाई कागजी बाघ, प्रतिगमनका खलनायक, उखाने शासक, सपना देख्ने तर ती सपनालाई मूर्तरुप दिनका लागि चाहिने जोहो र योजना पटक्कै बनाउन नजान्ने मनगढन्ते नेता भन्ने आरोपसमेत लाग्ने गरेको छ ।त्यसैगरी दाहाल र नेपाललाई ओलीलाई यो कदम चाल्नका लागि बाध्य पार्ने प्रतिगमनका मतियारद्वय भनिएको छ । हुन त यी दुवै पक्षको मत नमिलेर, ओलीका काम–कारबाहीमा प्रचण्ड र नेपालले तगारो हालेकाले राजनीतिक छिनाझप्टी भएको हो । भन्नेले यसो मात्र भनेनन्, घुमाइफिराईकन दाहाल–नेपालको राजनीतिक असहयोगका फुँदाहरूलाई समेत जोड्ने काम गरे ।

ओली र दाहालले तोरी र कोदो मिसाएर एकताको स्वाङ गरेका थिए । ताक पर्दा ती दुवै एकले अर्कालाई लडाएर घाँटी न्याक्ने दाउमा थिए । दुई–दुई पाइलट भनाएर जेटरुपी पार्टीलाई नै लथालिङ्ग पारिदिए । कांग्रेसलाई लोप्पा खुवाउनका लागि ओलीले प्रचण्डलाई उनको हैसियतभन्दा बढी सिट दिएर पार्टी एकीकरण गरे पनि केन्द्रमा मुख मिलाइयो तर गाउँमा पुच्छर मिलाउन सकिएन । आखिर न कोदोबाट पीठो आयो, न तोरीबाट तेल । विकास निर्माणका काम कुराहरूमा सधैँ जालझेल भयो । जनताका आयआर्जन गर्न सकिने र दिगो विकासका योजनाहरूभन्दा ‘भ्यु टावर’को रटान लगाइयो, जहाँ जनताका गरिबी हेर्नका लागि कथित सुकिलामुकिलाहरू भ्यु टावरमा चढेर अभाव र भोका–दाम्रा पेटहरू हेर्न लालायित देखिए ।कृषिलाई आधुनिकीकरण, यान्त्रिकीकरण, अग्र्यानिक तबरको शैलीमा ल्याइएन कि गफ र भाषणमै दिन बिताउने काम गरियो । ओलीकै कृषिमन्त्री घनश्याम भुसालले पोहोरको असारमा भारत हुँदै नेपाल पसेको सलहका लागि ‘अङ्ग्रेजी गीत घन्काएर निर्मूल पार्नुपर्छ’ भन्ने ‘मन्त्री–भाषण’ गरी आफैँ ‘जोकर’ साबित भए । समयमा रासायनिक मल खरिद गर्न नसकेर आलोचित मन्त्री धान रोप्ने बेलामा ल्याउने मल गहुँ छर्ने बेलामा पनि नल्याएपछि भने किसानको रोषको तारो भए ।

नेपाली जनताले पचासको दशकमा शुरू भएको जनयुद्धमा मारिएका १७ हजार मान्छेको बलिले देशले कोल्टे नफेर्ने देखेपछि र पसाचको दशकमै विकृतिका रुपमा मौलाएको सांसद खरिद–बिक्री, पार्टी परिवर्तनका लागि आयाराम गयाराम प्रवृत्ति र नौ–नौ महिनामा सरकार परिवर्तन भएर नागरिकहरू दिक्कवाक्क भएका थिए । दुई कम्युनिस्ट पार्टी एक भएर चुनावमा गएपछि स्वाभाविकै थियो तिनीहरू नै मुलुकको ठूलो पार्टी बन्छन् । नभन्दै बने पनि । दुई वर्ष ढुक्कले ओलीले सरकार चलाए । प्रतिपक्ष आफ्नो ठेगानमा थियो । विरोध गर्नै पर्ने काममा मात्र विरोधका स्वर उराल्थ्यो । प्रतिपक्षमा पनि संसद्मा गगन थापा र मीनेन्द्र रिजालहरू मात्र कडारुपमा देखिए ।बेकारमा आफ्नै छँदाखाँदाका सांसदहरू बेफ्वाँकमा प्रतिपक्षको भूमिकामा आए । भीम रावल, घनश्याम भुसाल र योगेश भट्राईले कहिले जिब्रो चपाएर कराउनुप¥यो, कहिले काँचो आन्द्रा चपाएको अभिनय गर्नुप¥यो । राजनीतिलाई आफ्नै भनाउँदाहरूले लाजनीति नबनाइदिएको भए, लाम लागेर ओम्नी, यती, ललिता निवास, वाइडबडी काण्ड, निर्मला पन्त हत्याजस्ता संगीन मुद्दाहरूमा दूधको दूध पानीको पानी गर्न सकेको भए, सम्धीलाई काँध नहालेको भए, उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङलाई विनाबिच्चमा दोस्रो कार्यकालका लागि सरक्कै म्याद थपिदिएको भए यी र यस्ता कति छन् कति पहेलीहरू !

कोरोना कहरले राज्यको लाज छेक्ने अस्त्रको काम गरेकै थियो, ओलीले भन्ने गरेको ‘म आफू भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न’ भन्ने शैलीको लहरो नसमातेको भए के जान्थ्यो नेकपाको ? केन्द्रमा मात्र होइन, पाँच प्रदेशमा समेत ओलीका विश्वासपात्र नेताहरू प्रदेश सरकारको बागडोर सम्हालिरहेका थिए । प्रचण्ड–माधवलाई भित्तैमा पु¥याएर साइजमा ल्याउने हरकतले ओलीलाई असहयोगको वातावरण बनाउन विरोधीलाई पुट भयो ।कागज गरेरै अढाइ–अढाइ वर्षको सहमति गरेका ठाउँमा लिखित सहमतिसमेत नमानेर उस्तै र उही हैसियतका नेतालाई आफूले भनेका कुरामा समेत मिसिल मिलाउन नसकेपछि दुवै गुट आ–आफ्नो बाटोमा लागेका हुन् । प्रचण्ड आफ्नो शक्ति, सत्ता र अधिकारको वर्चश्वका लागि अनेक ताल तिकडम गरेर नेता–कार्यकर्ता र कार्यशैलीलाई उरालधुराल गर्न सक्ने नेता हुन् भन्ने कुरा ओलीले यीसँग घाँटी जोड्ने बेलामा बुझेकै थिए । त्यसलाई जबर्जस्ती बुझ पचाउनु यिनका लागि महँगो साबित हुनसक्छ, राजनीतिक विश्लेषकहरू यसरी विश्लेषण गर्न थालेका छन् ।

सम्मानित अदालतमा मुद्दाले प्रवेश पाएपछि कहिले तीसौं वर्ष पानी नझर्ने मेलम्चीका धाराझैँ विनाधाराको प्रयोग गरेर संसद् विघटनको सिफारिस गरिएको कुरा महान्यायाधीवक्तासमेत रहेका पुराना कानुन व्यवसायी अग्नि खरेललाई समेत थाहा रहेनछ । सोको सक्कलबमोजिम नक्कल भएझैँ राष्ट्रपतिको कार्यालयबाट समेत कुन–कुन धारा वा उपधारा सोको हेक्का नराखीकन गरिएको संसद् विघटनले एकातिर जग हँसाउने काम गर्‍यो भने अर्कोतिर झन् ओलीद्वारा अदालतलाई नै च्यालेन्ज हुने गरी हुङ्कार गरिएका सम्भाषणहरू, राजधानीलगायत देशका प्रमुख शहरहरूमा ‘साउथ इन्डियन मुभी’मा भिलेनले आफ्नो सानदार जीतका लागि सिनेमाको अन्तिम फाइट सिनमा देखाउने पुत्लाजस्तो पूर्णकदको शालिकको प्रचारलाई नागरिकहरूले ज्यादै भद्दा भन्दिएका थिए ।

आखिर नेताले जनताको मनमा रहेरै शासन गर्ने हो । जनताको मनको कुरा नबुझेर धेरै शासकहरू विश्वमा र हामीकहाँ पनि पत्तासाफ भए । राजाको प्रत्यक्ष शासनकालमा जिल्ला दौडाहामा निस्केका राजा ज्ञानेन्द्र शाहले जनताको आर्तनाममा केवल ‘बुझेँ–बुझेँ’ मात्र भनी पुष्पगुच्छा लिएर भीड हटाएको दृश्य नेपाली जनताले बिर्सिसकेका थिएनन् । अहिलेको आन्दोलनमा अझ खासगरी सरकारी पक्षबाट भएको भनिएको आन्दोलनमा सरकारी ढुकुटी रित्याउने शैलीमा गरिएको फजुल खर्चको प्रतिपक्षी नेता, कार्यकर्ता या सजग नागरिकहरूबाट लेखाजोखा राख्ने काम भएकै हुनुपर्छ ।कुनै पनि लोकतान्त्रिक शासकलाई फोस्सामा तानाशाह बन्न अबको खुला र चेतनशील समाजले त्यत्तिकै दिँदैन । कि त अहिले तानाशाह बन्ने अभीष्टता राख्ने शासकले लाखौं मानिसलाई उनीहरूको अभिव्यक्ति दबाउनका लागि पेल्ने योजना बनाउन सक्नुप¥यो, कि त आफूले एउटै गल्ती नगरीकन शासक भएर शासन सञ्चालन गर्ने हिम्मत राख्नुपर्‍यो । यदि यसो गर्न नसक्ने शासकहरूले सामान्य शासकको भूमिकामा रहेर शासन सञ्चालन गर्नु बेस हुन्छ । यो कुरा ओलीलाई ‘ओली बा आई लभ यु’ भन्ने कार्यकर्ताहरूले सार्वजनिकरुपमा भन्न सकेनन्, न त क्याबिनेट मन्त्री वा सल्लाहकारको भूमिकामा रहेका उनका हितैसीहरूले स्पष्टरूपमा कुरा राख्न नै सके ।
अदालतको फैसला पछि १३ दिनभित्र संसद् बोलाउनै पर्ने बाध्यकारी फैसला सम्मानित अदालतले गरिदिएको छ ।

संसद् बोलाएपछि पहिलो काम भनेको अब विपक्षीहरूले अविश्वासको प्रस्ताव दर्ता गर्नेछन् र बाँकी संसदीय कार्यवाहीहरू अघि बढ्नेछन् । प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित भएर नयाँ सरकारका लागि बाटो खुल्यो भने अहिले ओलीका पक्षमा ‘मर्ते दम तक’ भनेर लागेका राजनीतिक प्राणीहरूमध्ये २५ प्रतिशत कार्यकर्ताहरू ओलीसँग बसे भने त्यो अचम्म हुनेछ ।पावर, मनी र पोजमा नझुत्तिने मानिस यो संसारमा हुँदैनन्, छैनन् । यी घटनाहरूले नेपाली राजनीतिको मध्यान्तरलाई देखाएको भान भैरहेको छयतिखेर । स्थायित्व र विकाससिकास भनेको त गायक रामकृष्ण ढकालको गीतको फाँकीजस्तै–‘यो त सब भन्ने कुरा न हो ।’