आज कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै


न्युज अफ नेपाल , काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज अपराह्न बस्दैछ । सानेपास्थित केन्द्रीय कार्यालयमा अपराह्न दुई बजे डाकिएको बैठकमा १४औँ महाधिवेशनको नयाँ कार्यतालिका र आन्दोलनको समीक्षासहितका विषयमा छलफल हुनेछ ।

फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा गर्ने भनिएको महाधिवेशन कोरोना भाइरसको महामारीले अनिश्चित भएको थियो । आजको बैठकमा महाधिवेशनको नयाँ मिति तोक्ने विषयमा छलफल गर्ने कांग्रेसको तयारी छ ।१३ औं महाधिवेशनबाट निर्वाचित कांग्रेसको वर्तमान कार्यसमितिको कार्यकाल २०७६ साल फागुनमा समाप्त भएको थियो । विधानमा भएको व्यवस्था अनुसार एक वर्ष कार्यकाल थपिएको थियो ।

कांग्रेस र उसका भ्रातृ संगठनहरुले गाउँ तहसम्म विरोधका कार्यक्रम गरिसकेका छन् । अब काठमाडौंसहितका ठूला शहरहरुमा ठूला सभा आयोजना गर्नुपर्ने आवाज रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुले उठाउँदै आएका छन् । क्रियाशील सदस्यता विवाद लगायतका कारण कांग्रेसले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न सकेको छैन । यसैबीच संसद विघटनको विरोधमा कांग्रेसले पनि ठूला सभा गरेर विरोधसभा गर्ने तयारी गरेको छ ।