प्रेम रावत
एकपटकको कुरा हो, एकजना किसान जङ्गलको बाटो हुँदै कतै गइरहेका थिए । अचानक उनले एउटा सिंहको सानो बच्चो देखे । उनले यताउता हेरे तर अरू कोही पनि देखेनन् । सिंहको बच्चो भोक र तिर्खाका कारणले मरणासन्न अवस्थामा पुगेको थियो । उसको त्यस्तो अवस्था देखेर किसानलाई दया लाग्यो । त्यसपछि उनले त्यसलाई आफ्नो घरमा लिएर गए । त्यसलाई खुवाउने–पियाउने काम गरेपछि सिंहको बच्चो खुशी भयो अनि किसानलाई अब यसलाई कहाँ राख्ने भन्ने कुराको चिन्ता भयो । किसानले थुप्रै भेडा पालेका थिए । उनले त्यो सिंहको बच्चालाई पनि तिनै भेडाको बगालमा राखिदिए ।
अर्को दिन जब भेडा चर्नका लागि बाहिर निस्किए तब सिंहको बच्चो पनि तिनैका बगालमा मिसिएर बाहिर निस्कियो । यस्तो गर्दागर्दै वर्षौँ बित्यो । सिंहको बच्चो पनि तिनै भेडाका साथमा चर्न जाने–आउने गरिरहन्थ्यो । तिनैसँग निस्कन्थ्यो अनि उनीहरूसँगै लागेर घरमा आउने गथ्र्यो । वास्तवमा उसलाई सिंह के हो भन्ने कुरासमेत थाहा थिएन । भेडाहरूसँगै रहेर ऊ ठूलो भयो । उसलाई त यही नै मेरो परिवार हो भन्ने हुन थाल्यो । भेडाहरू जसरी चर्ने गर्थे त्यसै गरी सिंह पनि चर्ने गथ्र्यो ।यसै क्रममा एकदिन जब त्यो बच्चो भेडाहरूका साथमा चरिरहेको थियो तब अचानक एउटा ठूलो सिंह जङ्गलबाट आइपुग्यो । यत्तिकैमा उसले भयङ्कर ठूलो गर्जना ग¥यो । गर्जन सुनेर स–साना भेडाहरू डरले काँप्न लागे । त्यसपछि झाडीतिर लुक्न थाले । त्यो सिंहको बच्चो पनि भेडाहरू जसरी नै डराएर लुक्न लाग्यो ।भेडाका साथमा सानो सिंह पनि लुक्न कोशिश गरिरहेको देखेपछि ठूलो सिंहले सानो सिंहका छेउमा गएर सोध्न थाल्यो– ‘तिमी के गरिरहेका छौ ?’
सानो सिंहले भन्यो, ‘म लुक्ने कोशिश गरिरहेको छु ।’
उसले सोध्यो, ‘तिमीलाई के लाग्छ, के म तिमीलाई खान्छु र !’
सानो सिंहले भन्यो, ‘हजुर, तपाईँले मलाई खानुहुन्छ !’
सिंहले भन्यो, ‘होइन, होइन । तिमीलाई तिमी आफुको हौ भन्ने नै थाहा छैन ।’
सानो सिंहले भन्यो, ‘मलाई म को हुँ भनेर थाहा छैन तर तपाईँले मलाई खानुहुन्छ भन्ने कुरा थाहा छ । यसकारण म लुक्नका लागि निकै कोशिश गरिरहेको छु ।’
सिंहले भन्यो, ‘होइन, वास्तवमा तिमीलाई तिमी आफु को हौ भन्ने कुरा थाहा नै छैन । तिमीले त आफुलाई पनि भेडा नै हुँ भन्ने सोचिरहेका छौ तर तिमी भेडा होइनौ । आऊ मसँँग आऊ ।’ठूलो सिंहले उसलाई तलाउको किनारमा लिएर गएपछि उसले भन्यो, ‘हेर, आफ्नो छायालाई हेर !’जब सानो सिंहले आफ्नो छायालाई देख्यो तब उसले भन्यो, ‘अब बल्ल मलाई म को हुँ भन्ने कुरा थाहा भयो । वास्तवमा म त भेडाजस्तो त रहेनछु । म त तपाईँजस्तै रहेछु ।’ उसले ठूलो सिंहप्रति आभार व्यक्त गर्न लाग्यो ।
सिंहले भन्यो, ‘मैले त केवल तिमीलाई वास्तवमा तिमी को हौ भनेर देखाएको मात्रै हुँ । तिमी भेडा होइनौ । ठीक छ, तिमी भेडाका साथमा रहन्थ्यौ तर तिमी भेडा होइनौ । तिमीले उनीहरूसँग बस्दाबस्दै आफुलाई पनि भेडा नै ठान्न थाल्यौ ।’यस कथाको तात्पर्य के हो भने, तपाईँको वास्तविक स्वरूप के हो ? तपाईँ को हुनुहुन्छ ! अहिलेसम्म त तपाईँले नातागोतालाई बुझ्नुभएको छ– ‘म कसैको छोरो हुँ, म कसैको काका हुँ ।’ यिनै कुरालाई बुझ्नुभएको छ । वास्तवमा खास नाता के हो ! कुन चीज हो, जसको उपस्थितिमा सबै कुरा छ अनि जसको अभावमा केही पनि हुँदैन ! जसलाई हामी चिन्ने कोशिश गरिरहेका छौँ, त्यो प्रयास त सबै बाहिरतिर मात्रै भइरहेका छन् । के हामीले आफुभित्र भएको चीजलाई पनि चिन्ने कोशिश गरेका छौँ त ! मेरो वास्तविक स्वरूप के हो ? हामीले आफ्नो वास्तविक स्वरूपलाई पहिचान गरेपछि धेरै भ्रमहरूको निवारण पनि हुनेछ ।
यो संसारमा रहुन्जेल कसैको लागि राम्रो समय आउँछ त कसैको लागि खराब ! कोही धनी हुन्छन् त कोही गरिब ! कोही पढालेखा हुन्छन् भने कोही पढ्न नपाएका पनि हुन सक्छन् । यी सारा कुराभित्र अल्झिएर हामी पनि भेडा नै बनेका छौँ । हामीले तुलना गर्नुपर्ने चीजहरूसँग तुलना गरिरहेका छैनौँ । तर, यस्ता चीजहरूसँग आफ्नो तुलना गरिरहेका हुन्छौँ कि जुन चीजसँग हाम्रो कुनै सम्बन्ध हुँदैन । यो संसारमा हामी आएका छौँ र हामी त यहाँ सधैँभरि रहिरहन्छौँ भन्ने ठान्छौँ । सय वर्ष बाँचौँला भनेजसरी सामानलाई बटुलेर पनि राख्छौँ तर एक सेकेन्डपछि के हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा छैन । चाहे जेसुकै गरे पनि एकदिन जानुपर्नेछ र यो कुरालाई टार्न पनि सकिँदैन ।दुईवटा कुरा हुन्छन्– एउटा जन्म र अर्को मरण । तेस्रो कुराचाहिँ यी दुई कुराका बीचमा हुन्छ र त्यो हो– यो जीवन । यी तीन कुरा हुन्छन् । जन्म त भइसक्यो, त्यसकारण यहाँ छौँ । अहिले जीवित छौँ अनि एकदिन यहाँबाट जाने दिन पनि आउनेछ । यो तपाईँलाई प्राप्त भएको समयलाई बिग्रन नदिनुहोस् । यदि यो बिग्रियो भने त जति पनि यसबाट प्राप्त हुने फल छ त्यो तपाईँले प्राप्त गर्न सक्नुहुन्न ।
जब तपाईँ बिहानै उठ्नुहुन्छ भने कुन कुराको चिन्तन गर्नुहुन्छ ? आफ्नो समस्याका बारेमा चिन्तन गर्नुहुन्छ या तिनको चिन्तन गर्नुहुन्छ, जुन तपाईँभित्र छन् । आफ्ना समस्याका बारेमा चिन्तन गर्नुभयो भने अभैm समस्या बढ्नेछ । किनभने, तपाईँ आफ्नो जीवनमा जे गर्नुहुन्छ, जुन चीजको अभ्यास गर्नुहुन्छ त्यसै चीजमा तपाईँ अभ्यस्त बन्नुहुन्छ । जुन दिन तपाईँ यी चीजहरूको अभ्यास गर्न छोड्नुहुन्छ र तपाईँभित्र स्थित चीजको अभ्यास गर्न सिक्नुहुन्छ त्यस दिन तपाईँको जीवन पनि बदलिनेछ । त्यस दिन सबै कुरा बदलिनेछ । त्यस दिन तपाईँलाई उनको साथ प्राप्त हुनेछ जो सदैव तपाईँका साथमा रहन्छन् । जबसम्म यो श्वास आइरहेको छ, गइरहेको छ भने उनी तपाईँका साथैमा छन् । तपाईँले चाहेको बेलामा अन्तर्मुख भएर तिनको अनुभव गर्न सक्नुहुन्छ, फलस्वरूप तपाईँको जीवनमा शान्ति प्राप्त हुनेछ ।
मानिसहरू त के सोच्छन् भने, ‘शान्ति, शान्ति’ भनेर शान्ति प्राप्त हुन्छ तर यस्तो हुँदैन । शान्ति त त्यो कुरा हो– यदि चोरले चोरी गर्दा शान्तिको सन्देश प्राप्त ग¥यो र त्यो सन्देश उसको हृदयसम्म पुग्यो भने उसको जीवनमा पनि शान्ति प्राप्त हुनेछ । किनभने, शान्तिको सन्देशले ‘तपाईँ को हुनुहुन्छ’ भनेर हेर्दैन । किनभने, शान्तिको तार ती सृष्टिकर्तासँग जोडिएको छ जो हामीभित्रै बसेका छन् । जब उनीसँग तार जोडिनेछ तब तपाईँको जीवनमा शान्ति प्राप्त हुनेछ । त्यसपछि तपाईँलाई वास्तविक आनन्द प्राप्त हुनेछ ।यस संसारमा जसलाई तपाईँ खोजिरहनुभएको छ, ती बाहिर छैनन् । तपाईँले तिनलाई आफ्नो मनद्वारा बुझ्न सक्छु भन्ने कुराचाहिँ त्यो तपाईँको मनको भ्रममात्रै हो । तिनलाई त केवल हृदयका माध्यमबाट मात्रै महसुस गर्न सकिन्छ । उनी सबैतिर छन् । उनी सबैतिर छन् भन्ने कुराको अर्थ के हो भने, उनी तपाईँभित्र पनि छन् । त्यस शान्तिलाई चिन्नुहोस्, पहिचान गर्नुहोस् अनि आफ्नो जीवनमा त्यसको पनि अनुभव गर्नुहोस् । त्यसपछि आफ्नो जीवनलाई सफल पार्नुहोस् ।शान्तिलाई त ल्याउने आवश्यकता पनि पर्दैन । त्यो त आफैँ आउँछ । यसकारण आफ्नो जीवनलाई सफल पार्नुहोस् । त्यस चीजको अभ्यास गर्नुहोस् जसबाट तपाईँलाई साँचो आनन्द प्राप्त होओस् ।
आफुले आफुलाई चिन्नुहोस् ! आफुले आफुलाई पहिचान गर्नुहोस् । जबसम्म आफुले आफुलाई चिन्न सकिँदैन, पहिचान गर्न सकिँदैन तबसम्म शान्ति हामीबाट टाढा छैन भन्ने कुरालाई बुझ्न सकिँदैन । शान्ति त भित्रको कुरा हो । यसर्थ यो संसारलाई बदल्नु आवश्यक छैन । यदि तपाईँसँग एउटा टर्च छ र त्यसमा एउटा बल्ब छ । बल्ब जल्यो भने एउटा नयाँ बल्ब राखिदिनुहोस् अनि त्यो बल्न थाल्नेछ । यो कुरा मानिसमा पनि लागू हुन्छ । मानिसले पनि आफुले आफुलाई चिन्यो, आफुले आफुलाई बुझ्यो भने यी सबै कुरालाई बदल्नुपर्ने आवश्यकता नै पर्दैन । किनकि, चीजलाई अलिकति बदल्नु, अलिकति सहज तुल्याउनु यो कुरा त मानिसको दिमागको आविष्कार हो । यद्यपि यसमा न त कुनै खराबी छ, न कुनै राम्रोपना छ । वास्तवमा शान्तिको स्रोत मानिस हो, ती चीजहरू होइनन् । यसको अर्थ के हो भने, खाना पकाउन नजान्नेलाई तपाईँले राम्रा–राम्रा सरसामान जुटाइदिए पनि खाना स्वादिष्ट बन्नेछ भन्ने हुँदैन । ठीक विपरीत जसलाई आउँछ उसलाई अलिअलि कमसल चीज प्राप्त भए पनि उसले त त्यसैबाट पनि राम्रो पकाउन सक्छ । यसर्थ यही नै अन्तर हुन्छ ।
शान्तिको सम्बन्ध केवल एउटा चीजसँग हुन्छ र त्यो हो– मानिस । शान्ति उसैभित्र छ र सदैव रहेको छ । केवल त्यसलाई अनुभव गर्नु आवश्यक छ । यदि मानिसले आफ्नो ध्यानलाई थोरै भए पनि त्यतातिर मोड्ने हो भने उसले आफ्नो जीवनमा धेरै कुरालाई बदल्न सक्छ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण :डा. प्रेमराज ढुङ्गेल ।)
प्रतिक्रिया