बालकृष्ण मैनाली
कुनै पनि देशको सरकारमाथि जनताले बढीसे बढी अपेक्षा गर्नु अस्वाभाविक हुँदै होइन । राजनीतिक दृष्टिकोण, सिद्धान्त, व्यवहार र अपनाइने रणनीतिहरु दल र सरकारपिच्छे फरक–फरक हुन सक्लान तर जनताको सामान्य अपेक्षा फरक हुँदैन । रोजगारी, शिक्षा, स्वास्थ्य, बाटोघाटो, पानी अनि बिहान–बेलुका श्रम गरेर खान पुग्ने अवस्थाको आशा सरकारसँग गर्नु किञ्चित पनि गलत हुँदै होइन । नेपाली राजनीतिले यहाँसम्म फड्को मारेर आइपुगेको अवस्थामा पनि देशको सरकारसँग यति न्यून अपेक्षा गर्नु कुनै ठूलो अपेक्षा होइन । बिहान–बेलुकाको छाक टार्न धौ–धौ भएकाहरुलाई बलिको बोको बनाई राजनीतिक छिनाझपटीको माध्यमबाट नाटक मञ्चन गर्दै आफ्नो हैसियत बनाइसकेका केही चाटुककार र बिचौलियाहरुको अपेक्षा भने सामान्य जनताको भन्दा धेरै फरक हुन्छ र हुन सक्छ ।
बिर्सेर पनि चाटुककार र बिचौलियाहरुको अपेक्षाहरुलाई सामान्य जनताको अपेक्षा ठानी कार्य हुन गएमा छोटै अवधिमा सरकारमाथिको विश्वास जनस्तरबाट खस्किन थाल्छ । जनताबाट विश्वास खस्किन थाल्नु भनेको सरकार मात्र असफल हुने होइन, जुन दलको हैसियत बोकेर सरकारमा प्रतिनिधित्व गरेको हो सो दलको हैसियत पनि खस्किन गई विवादास्पद बन्न जान्छ । ढंग नपुर्याउनुको साथसाथै आफ्नै तजबिजी अधिकारको प्रयोग गर्ने र वास्तविक जनअपेक्षालाई सम्बोधन गर्नुको सट्टा आफ्ना वरपरका व्यक्तिहरुको अपेक्षाहरुलाई मात्रै ध्यान दिएर सरकार चलाएको कारणले देश वर्तमान अस्थिरतामा जाकिन पुगेको हो ।अहिलेको सरकार यस्तो विन्दुमा उभिएको छ, जहाँ समस्या र कठिनाइ पर्दा समाउने कुनै हाँगो छैन । भएका केही हाँगाहरु भाँच्चिसकेको अवस्थामा छन् ।
कुनै पनि राज्यको दरिलो हाँगा भनेको बलियो आर्थिक धरातल, चुस्त–दुरुस्त न्याय प्रशासन र परिवर्तनशील तर अकण्टक सामाजिक मूल्य–मान्यता र सामाजिक सद्भाव हुन् । यी हाँगाहरुमध्ये कुनै एउटा हाँगा मात्रै दरिलो भएन भने पनि राज्य उँभो लाग्न सक्दैन । वर्तमान अवस्थामा देशको यी सबै महत्वपूर्ण हाँगाहरुलाई छिन्नभिन्न पारिएका छन् । उल्लिखित सबै हाँगाहरुमध्ये कुनै पनि हाँगा अहिले सद्दे अवस्थामा छैनन् । सबै भताभुंग अवस्थामा छन् र अझ त्यसमाथि थप भताभुंग पार्ने प्रयास जारी नै छ । भताभुंग पार्न भूमिका खेल्नेहरुलाई सामान्य पश्चात्ताप पनि छैन ।पछिल्लो परिदृश्य देश गम्भीर परिस्थितिबाट गुज्रिरहेको छ । राजनीतिक अंशियारहरु आ–आफ्ना नाटक मञ्चनमा व्यस्त भएर लागिरहेका छन् । कोही नेपाल बन्दको नाटक गर्न भ्याइसकेका छन् भने कोहीले त्यसको जवाफमा सडक–पेटीका रेलिङ हटाएर पनि सभा गरी भ्याइसकेका छन् । देशका अन्य भागहरुमा पनि यस्तै किसिमका भेला र सभा गर्ने उद्घोषहरु राजनीतिक गुटहरुसँग सम्बन्धित अंशियारका मूलीहरुले सार्वजनिक गरेका छन् ।
दैनिक मजदुरी गरी पेट पाल्न बाध्य मजदुरको हक छिनिएको विरोधमा उनीहरुलाई सडकमा उतार्नुको सट्टा भेला वा जुलुसमा मजदुर तथा विद्यार्थीहरुलाई सहभागी गराउने ठेक्का लिने कार्यमा मजदुरका नेता र विद्यार्थी नेताहरु प्रत्यक्ष–अप्रत्यक्षरुपमा तल्लीन बन्न पुगेका छन् । सोझा श्रमिक तथा सोझा विद्यार्थी आपूर्ति गर्ने मुख्य ठेकेदारहरुको भाग्य चम्किएको छ । भेला र जुलुसमा सहभागी भएकाहरुलाई किन जुलुसमा आएको भन्दा केहीले संविधानको रक्षा गर्न आएको जवाफ फर्काएका थिए । संविधान भनेको के हो, संविधानको के बिग्रियो र त्यसको रक्षा गर्न आएको भनी अर्को प्रश्न गर्दा तिनीहरु निरुत्तर भएका थिए ।
यस्ता सीधा जनता तथा युवाको मनोभावनामा खेल्दै प्रत्यक्ष वा अप्रत्यक्षरुपमा दोहन गरिएको राज्यको स्रोतलाई एकले अर्कालाई नीच देखाउन र तेरोभन्दा मेरो जनमत बढी छ भनेर प्रमाणित गराउन धृष्टता गर्ने प्रयासमा थप लागिपर्ने अठोट गरेका छन् । जनजनलाई कहिलेकाहीँ आफ्नो भनाइ राख्न स्थान देऊ न भन्दा निषेधित क्षेत्र घोषणा गर्नेहरु आफैलाई भेला–सभा गर्नुपर्यो भने आफैसमेत संलग्न भई घोषणा गरेको निषेधित क्षेत्रमा लाजै नमानी एकथरी गुटको अंशियार म यहाँ छु र उहाँ छु भन्दै, फलाक्दै हिँड्छन् । अर्का थरी गुटको अंशियारहरु दरबारमार्गजस्तो संवेदनशील ठाउँमा रेलिङ भत्काएर भए पनि भेला र सभा गर्छन् ।प्रत्येक गुटका अंशियारहरु आपै संविधानका धाराहरु मिच्छन् अनि आपै संविधानको दुहाइ दिँदै एक–अर्काले संविधान मिचेको कारण संविधानको रक्षार्थ वकालतमा आएको, त्यसैको लागि नेपाल बन्द गरेको, त्यसैको लागि रेलिङ भत्काएर भए पनि सभा गरेको भन्छन् । तर संविधानको धाराले प्रत्येक नागरिकलाई हिँडडुल गर्न पाउने स्वतन्त्रतामा आघात पुर्याएकोमा किञ्चित आत्मीय दुःख मनाउँदैनन् र उल्टो नाटक मञ्चन गर्दै हाम्रो कार्यक्रमले जनजनलाई केही असुविधा भयो होला त्यसको लागि क्षमाप्रार्थी छु भनिटोपल्छन् ।
एकथरी अंशियार गुडिरहेको ट्याक्सीमा आगजनी गर्छन् त अर्को थरी अंशियार मलहम लगाउने बहानामा क्षतिपूर्ति दिन्छु भन्छन् । मजदुर युनियन र टे«ड युनियनहरु मजदुरहरुकोे र तिनका परिवारका सदस्यहरुको दैनिकी गाँस खोसिएकोमा एक शब्द बोल्दैनन्, बरु तिनका पदाधिकारीहरु भेलामा श्रम आपूर्ति गर्ने ठेक्कापट्टामा लागि पर्छन् । सामाजिक अभियन्ता भनेकाहरु गुटगत अंशियारहरुका भेलामा यो वा त्यो गुटले भेला र सभा गर्ने स्थानमा जान सविनय अनुरोध गर्दै सामाजिक सञ्जालहरुमा निमन्त्रणा पठाउँछन् । देशको राजनीतिमा यो भन्दा चरम विकृतिपूर्ण नाटक र नौटंकी अरु के हुन सक्छ ?वर्तमानमा देखिएका नाटकका दुवै गुटगत पात्रहरु जनजनको नजरमा खलनायकको भूमिकामा मात्र सीमित देखिएका छन् । नायकको भूमिकामा कुनै गुटगत अंशियारका सदस्यहरु देखिएका छैनन् । दुवै खलनायकहरु आपूले गरेका गलत कामहरुको पक्षपोषण गर्दै अर्कोले गरेको केही राम्रो कामको पनि भत्र्सना गर्ने नाटकको मञ्चन गरिरहेका छन् । नाटकका खलनायक पात्रहरुले वर्तमानमा तीन तह वा क्षेत्रमा आफ्नो नाटकलाई मञ्चन गरिराख्ने तयारीमा जुटेका छन्– पहिलो सडक, दोस्रो अदालत र तेस्रो संसद् ।
जे–जति नाटक गर्नुपर्ने हो कम्तीमा संसद्लाई जीवितै राखेर संसद्मै नाटक गरेको भए नाटकै भए पनि जनजनले यथासमयमा नाटकका खलनायकहरुलाई समयसापेक्ष मूल्यांकन गर्ने नै थिए, तथापि नाटकका खलनायकहरुले तीनवटै राज्यका अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा एवं सडकबाट समेत आफ्नो नाटक मञ्चन गरिछाडे । एकथरी नाटककार आफै जनताले बलिदान गर्नुपर्छ भनी चिच्याउँछन् । अर्को थरी नाटककार जनजनको अधिकारको लागि वर्तमान सरकारलाई विस्थापित गराउनै पर्छ भन्दै नागरिक र युवाहरुलाई भ्रमित पार्दै छन् । यता सत्ताधारी अंशियार भने निर्वाचनमा गएपछि आफैलाई पुनः पाँच वर्ष स्वेच्छाचारी शासन गर्न जनताले पूmलमाला लगाइदिन्छन् भन्ने मृगतृष्णाको नाटक मञ्चन गरिरहेका छन् । जनजन कुनै पनि नाटकका खलनायकहरुको कुरामा विश्वास गर्ने पक्षमा छैनन् । सामान्य जन यदि स्वास्थ्य, शिक्षा र सामान्य आयसहित शान्तिपूवर्क बाँच्न पाउने अवस्थाको सिर्जना हुन पुग्थ्यो वा गराइन्थ्यो भने कुन दलको प्रतिनिधिले सरकारको नेतृत्व गर्यो भन्ने कुरा सामान्य जनले त्यसलाई गौण विषय नै ठान्दथ्यो । दिनको हजारौंको संख्यामा खाडी मुलुकमा पलायन भैरहेका युवाहरु सरकार जोसुकैको होस् स्वदेशमै रोजगारको व्यवस्था भए खाडी मुलुक जानुपर्ने थिएन, परिवार छोड्नुपर्ने थिएन भन्दै आफ्नै देशको माटोमा आफ्नो श्रम खर्च गर्दथे ।
नाटककारहरुको दुईवटा विषयलाई केन्द्रित गर्दै अदालतमा नाटक मञ्चन गर्ने पछिल्लो अभिनय प्रयास गर्दै छन् । पहिलो एकले अर्कालाई अदालतको अवहेलना गरेको भन्दै छुट्टाछुट्टै रिट निवेदनमार्पmत शुरु हुन पुगेको छ । दुवै नाटकका अभिनयकर्तालाई आफै उपस्थित भएर बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफ ल्याउन अदालतबाट आदेश जारी गरेको छ । कुन नाटककारले कस्तो लिखित जवाफ पेस गर्ने हुन्, मुद्दाले कुन मोड लिएर अवहेलनाको मुद्दा कता पटाक्षेप हुने हो, यसको लागि केही समय पर्खिनुपर्ने भएको छ भने दोस्रो प्रतिनिधिसभाका सभामुख स्वयंले भर्खरै राष्ट्रपतिबाट सपथ खुवाएर अख्तियारदेखि मानव अधिकार आयोगसम्म नियुक्त गरिएकाहरुविरुद्ध संविधान विपरीत नियुक्त गरिएको भन्दै ती नियुक्तिहरु बदरको लागि राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभा अध्यक्ष, ३२ जना नवनियुक्त पदाधिकारीहरु, मुख्य सचिव एवं संवैधानिक परिषद् सचिव र संवैधानिक सचिवालयसमेतलाई विपक्षी बनाई रिट दायर गर्नुभएको छ ।
संवैधानिक अंगका एक प्रमुखले संवैधानिक अंगका अन्य प्रमुखहरुलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरिएको नेपालमा यो पहिलो नै हो । यो नाटकको अन्त्य पनि कसरी हुन्छ वा गरिन्छ भन्ने कुरामा जनजन प्रतीक्षारत छन् । प्रायः जनजनको मतलाई अपमान गर्ने नाटककारहरुको मण्डलीले कम्तीमा संविधानका सम्पूर्ण धाराहरुलाई अक्षरशः एक–अर्काले सम्मान गर्न सकेको भए कुनै पनि संवैधानिक अंगहरु यति विवादित पक्कै हुँदैनथे ।नाटककारहरुका आ–आफ्ना राजनीतिक दाउपेचका कारण आफ्नो मतको अपमान गरिएको थाहा पाउँदा पाउँदै पनि क्षमा दिएर पुनः उनीहरुलाई नै विश्वास गर्दै सत्तामा पुर्याएको फल जनजनले अहिले नराम्ररी भोग्दै छन् । पश्चात्तापको आँसुले आममतदातालाई सचेत बनाएको छ ।
जुनसुकै अवस्थामा निर्वाचन भए पनि जनजन त्यसको लागि तयार छन् । निर्वाचन चाहे पुनस्र्थापनापछि वाँकी अवधि सकिएर होस् वा विघटनको औचित्य साबित भएर होस्, जसरी भए पनि निर्वाचनको माध्यमबाट कम्तीमा जनजनले यी नाटक मण्डलीहरुबाट मुक्त हुनै पर्दछ । सक्षम युवापंक्तिलाई अब देशको दूरदृष्टि राजनीतिमा स्थापित गराउनै पर्दछ । त्यसको लागि युवाहरुसहितको स्वतन्त्र नागरिक सम्मिलित चुनावी सरकारको गठन अपरिहार्य देखिएको छ । अन्यथा, एक–अर्कामा अविश्वास पैदा भैसकेको नाटकमण्डलीका सदस्यहरु समावेश सरकारले देशमा निर्वाचनको माहोल तयार पार्न कठिन हुँदै गएको अनुभूति जनजनलाई हुन थालिसकेको छ । देशमा देखा परेको द्वन्द्व निराकरणको लागि यो मध्यमार्गी उपाय अपनाउनु सबैको लागि हितकर साबित हुन सक्छ ।
प्रतिक्रिया