बन्द, हड्ताल रोक्न निजी क्षेत्रको आग्रह



काठमाडौं । बन्द, हड्ताल जस्ता गतिविधि रोक्न निजी क्षेत्रको छाता संस्थाहरूले संयुक्त रूपमा आग्रह गरेका छन् । कोभिड १९ महामारीका कारण संकटमा रहेको अर्थतन्त्रलाई राजनीतिक अस्थिरता र बन्द, हड्ताल जस्ता गतिविधिले थप जोखिममा पार्ने देखिएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स संयुक्तरूपमा आग्रह गरेका हुन् ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमासबाट विस्तारै लयमा फर्किन थालेको अर्थतन्त्रलाई पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले गम्भीर नकारात्मक असर पार्ने निश्चित रहेको उल्लेख गर्दै बन्द हड्ताल, चक्काजाम एवम् आवागमनमा अवरोध हुने किसिमका भेला सम्मेलन लगायतका गतिविधिले पेशा व्यवसायमा अवरोध भई आयआर्जनमा प्रत्यक्ष प्रभाव परेर थप पीडा दिने उनीहरूको भनाइ छ ।

शान्तिपूर्ण समाधान निकाल्ने विकल्प पन्छाई सर्वसाधारण र निजी क्षेत्रको काम गर्न पाउनेलगायतका नैसर्गिक अधिकार कुण्ठित पार्न नहुने निजी क्षेत्रको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्