खोपका लागि आभार !



कोरोना भाइरसविरुद्धको खोप नआई कोरोना नियन्त्रण सम्भव छैन भन्ने विश्वको ठम्याइसँगै विश्वका वैज्ञानिकहरुले खोप पहिचान गरी विश्वव्यापीरूपमा कोरोना भाइरसविरुद्धको खोप लगाउन योग्य बनाएर विश्वसामु वितरण गर्ने क्रम बढेको छ । नेपालले पनि छिमेकी मुलुक भारतको सहयोगका कारण खोप प्राप्त गरेको छ ।

यसका लागि छिमेकीलाई धन्यवाद दिनुपर्छ । नेपालजस्तो मुलुकमा खोप भित्रिनु निकै प्रशंसनीय काम हो । ठूला र सम्पन्न युरोपेली मुलुकहरुमा समेत खोपको प्रभावकारिता, पहिलो र दोस्रो खोपको अन्तरको विवाद भइरहेका बेला नेपालमा सहयोगस्वरूप उपलब्ध भएको १० लाख डोज खोप बुधबारदेखि पहिलो चरणमा स्वास्थ्यकर्मीलाई लगाउने कार्य शुरु भएको छ । करिब ५ लाख नेपाली लाभान्वित हुने अवस्था बनेको छ ।

विश्वका अन्य मुलुकमा कोरोनाविरुद्धको खोपको शुरुआत राष्ट्रपति, प्रधानमन्त्रीले लगाएर गरे र आम नागरिकलाई विश्वस्त बनाए । तर, नेपालका प्रधानमन्त्रीले खोपको शुरुआत आफूले गर्नुको सट्टा भर्चुअल माध्यमबाट उद्घाटनको शैलीमा गर्नुले खोपप्रति उहाँ कम विश्वस्त त होइन भन्ने आशंका सिर्जना भएको छ । तर, विश्वास जित्नकै लागि जुन स्वास्थ्य संस्थामा लगाइने हो सोही संस्थाका प्रमुखहरुबाट खोप शुरु गरियो, त्यो भने प्रशंसनीय छ ।

प्रस्ट छ, कोरोनाविरुद्धको यो नयाँ खालको खोप हो । खोप लगाएपपछि के होला भन्ने चिन्ता हुनु स्वाभाविकै हो । त्यस कारण खोप लगाउनुअघि काउन्सिलिङ गर्नु जरूरी हुन्छ । यही तथ्यलाई मनन गरेर स्वास्थ्य मन्त्रालयले आम जिज्ञाशाका १६ प्रश्नको जवाफ तयार पारेर सार्वजनिक गरेको छ, सञ्चारमाध्यममा विज्ञापनका रूपमा प्रकाशित गराएको छ, यो पनि प्रशंसनीय कार्य हो ।

तर, अझै खोपका बारेमा काठमाडौका मन्त्रालय, विभागस्तरका स्वास्थ्यकर्मी, फ्रन्टलाइनमा खटिने व्यक्तिहरुले समेत पूर्ण जानकारी पाएका छैनन् भने गाउँ–गाउँमा खटिने हेल्थपोस्टका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकाले बुझेर आम नागरिकलाई कसरी बुझाउन सक्लान्, प्रश्नको विषय रहेको छ ।

अर्कातिर, यो बेला राज्य राजनीतिको दल–दलमा फसेर जनस्वास्थ्यलाई बेवास्ता गरिरहेको छ । दैनिकजसो राज्य पक्ष र विपक्षका नाममा निस्कने जुलुसले नेपालमा कोरोनाका बिरामी छन् र, भन्ने प्रश्न उब्जाएको छ । विश्वका मुलुकहरु भने कोरोना भाइरसको नयाँ रूपले देशको आर्थिक अवस्था मात्र नभई मानवीय क्षति अझ महत्वपूर्ण भएकाले एक देशबाट अर्को देशको आवत–जावतमा समेत रोक लगाउनेजस्ता अभियान बढाइरहेका छन् । हाम्रा भने प्रधानमन्त्री, मन्त्री र ठूला भनिएका नेताहरु मास्कबिना अन्तर्वार्ता दिँदै, सार्वजनिक भेलामा सहभागी हुँदै हिँडिरहेका छन् ।

छोटो समयमा खोप उत्पादन भएकाले यसको असर, प्रभावका बारेमा थप अध्ययन गर्ने समय कम भएकाले मानिसमा देखिने असर कस्तो हुन्छ भन्ने हेर्न बाँकी नै छ । परीक्षणकै रूपमा खोप प्रयोग गर्नुपर्ने बाध्यताकै कारण वैज्ञानिकहरुले पनि खोपको प्रभाव, असर र समस्या भए के गर्ने भन्ने ठोस उपाय निकालिसकेका छैनन् । जे परे म आफू स्वयं जवाफदेही हुनेछु भन्ने आत्मबल बोकेर खोप लगाउनुपर्ने अवस्था छ । यस अवस्थामा पनि खोप प्राप्त भएकोमा प्रसन्नता व्यक्त गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्