तराईका वनमा डढेलो, नियन्त्रणका लागि भएन प्रयास



रौतहट। 

सुख्खा मौसम सुरु भएसँगै रौतहटसहित तराईका वन जङ्गलमा लामो समयदेखि डढेलो लागेका कारण वातावरण दूषित बनेको छ । सम्बन्धित निकायले आगलागी क्षतिको विवरण राख्ने गरेको पाइँदैन । तर, रौतहटको सबै प्रकारका बनमा दोहोरयाई तेहराई डढेलो लागिरहेको छ । भुईको पतकर मात्र नभई सङ्कलित गोलिया काठ र सुकेको सिङ्गो रुखमासमेत आगो लाग्दा नियन्त्रणको प्रयास हुन सकेको छैन । बन गस्ती गरेर आगो लगाउनेको खोजी नहुँदा  बनडढेलो नियन्त्रणमा आउन नसकेको स्थानीय बताउँछन् ।

 लामो समयदेखि बनमा लागेको आगोको कारण वन्य जन्तु मारमा परेका  छन् । जङ्गली जनाबरहरु ज्यान जोगाउन चुरे क्षेत्र र खोला किनारमा आश्रय लिने गरेपनि उनीहरुलाई मानवीय खतरा रहेको छ । डिभिजन बन कार्यालयले बनभित्र सयौँ  स्थानमा पोखरीको निर्माण गरे पनि सधैँ पोखरी सुख्खा रहने गरेको छ । बन कार्यालयले अर्थहीन स्थानमा पोखरी निर्माण गरेका कारण त्यसको सदुपयोग हुन सकेको छैन । विभिन्न ठाउँहरूको बनमा आगो लागेका कारण राजमार्गमा चल्ने सवारी साधनका यात्रुहरुसमेत मर्कामा परेका छन् ।

 राजमार्ग तुवाँलोले ढाकिने र बस्तीमा समेत धुवाको प्रभाव परेको कारण आवातजावतमा समस्या भएको  स्थानीय विवेक कुमार चौधरीले बताए । लामो समय देखि बनमा डढेलो लाग्ने र चर्को गर्मीका कारण खोला नाला मुहानको पानी समेत सुक्न थालेको छ । पछिल्लो  पटक ०८० साल फाल्गुन महिनामा पानी परेको थियो त्यस यता आकासे पानी परेको छैन  । तापक्रम बढेसंगै पश्चिमी वायुको तेज गतिले जनजिवन प्रभावित बन्दै आएको छ । डिभिजन बन  प्रमुख शैलेन्द्र मिश्रले बनमा डढेलो लागेको तथ्याङ्क नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्