दाबा ग्याल्मोलाई राष्ट्रिय संगीत पुरस्कार


हेटौंडा, (नेस)
भीम विराग कला, संगीत, साहित्य कला प्रतिष्ठान मकवानपुरले भारतको दार्जिलिङ निवासी गायिका दाबा ग्याल्मोलाई बिजुलीमाया वन श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार–२०७७ बाट सम्मानित गर्ने भएको छ। प्रतिष्ठानले आगामी माघ १५ गते कार्यक्रम गरेर नगद १ लाखसहित संगीत पुरस्कार समर्पण गरिने जनाएको छ।

उनले दर्जनौं गीत गाएकी छन्। सन् १९५४ मा भारतको दार्जिलिङमा जन्मिएकी ग्याल्मोका दर्जनौं गीत लोकप्रिय छन्। सानैदेखि सांगीतिक यात्रामा समर्पित उनले नेपाली गीत गायनमा उल्लेखनीय योगदान पु¥याएकी छन्।

हालै हेटौंडामा पत्रकार सम्मेलन गरी वर्ष–२०७७ को राष्ट्रिय संगीत पुरस्कारबाट उनलाई सम्मान गरिने प्रतिष्ठान अध्यक्ष हयग्रिव आचार्यले बताए। आचार्यले नेपालको संगीत क्षेत्रमा लामो समय बिताउँदै हालसम्म पनि संगीतसाधनामा सक्रिय जीवनयापन गर्दै आएकी ग्याल्मोलाई सम्मान गर्न लागिएको बताए।

प्रतिष्ठानले हरेक वर्ष नेपाली साहित्य तथा संगीतमा योगदान पु¥याउने राष्ट्रिय÷अन्तर्राष्ट्रियस्तरका कलाकारलाई एक लाख रुपियाँ राशिको पुरस्कार प्रदान गर्दै आएको छ।

२०६४ सालमा हेटौंडाका कुशल व्यवसायी, संगीतप्रेमी, समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नामबाट बिजुलीमाया वन श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार स्थापना गरी प्रतिष्ठानको व्यवस्थापनमा समर्पण गर्दै आएका छन्।

प्रतिष्ठानले यसअघि संगीतकार अम्बर गुरुङ, गायक तथा संगीतकारहरु प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमानराज भण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डंगोल, मीरा राणा, कर्म योञ्जन र चेतन कार्कीलाई सम्मानित गरिसकेको छ।

विशेष सांगीतिक कार्यक्रमका साथ १२औं संस्करणका रूपमा समर्पण गर्ने तथा सोही समारोहमा प्रतिष्ठानले पहिलोपटक २० हजार राशिको भीम विराग संगीत युवा पुरस्कार–२०७७ दक्षिण एसियाकै महिलाको पहिलो सांगीतिक समूह हार्मोनी महिला गायन समँह पोखरालाई प्रदान गर्ने निर्णय गरिएको आयोजक समितिले जानकारी गराएको छ।

२०२६ सालदेखि हेटौंडामा बसेर साहित्य, संगीत, कला र पत्रकारितामा क्रियाशील विरागका नाममा हेटौंडामा भीम विराग साहित्य, संगीत, कला प्रतिष्ठान स्थापना भएर क्रियाशील छ। १९९१ मा वीरगन्जको माईस्थानमा जन्मिएका विरागका बाबुआमाले राखिदिएको नाम भीमबहादुर महर्जन हो। स्वरसम्राट नारायण गोपाल, मधु क्षेत्री, रामकृष्ण ढकाललगायतले गाएका थुप्रै कालजयी गीत भीम विरागका शव्द र संगीतमा छन्।

आजभोलि हरेक साँझ मात्तिन थालेछ, तिमीले पनि म जस्तै माया दिएर हेरलगायत गीतका स्रष्टा विरागका २०२५ सालदेखि २०५९ सम्म विभिन्न कृति प्रकाशित छन्। पछिल्लोपटक उनको महाकाव्य मोहभंग प्रकाशन भएको छ। दुःखेको इन्द्रेणी, अतृप्त स्पर्श गीतिसंग्रह, तातो सुस्केरा कविता संग्रह, आठटुक्रे बादल कथासंग्रह प्रकाशित छन्।

२०२३ सालमा नारायणी अञ्चलस्तरीय कविता प्रतियोगितामा प्रथम भएपछि चर्चामा आएका विरागले केही समय नारायणी साप्ताहिक र बिगुल साप्ताहिकको सम्पादक भएर पत्रकारिता पनि गरेका थिए।