बुढा हिरोहरू भर्खरकी हिरोइनको पछि–पछि

0
Shares

बलिउडमा आफ्नो विचार खुलेर राख्ने अभिनेत्रीमध्येकी एक हुन् दिया मिर्जा। सामाजिक सञ्जालमा निकै सक्रिय रहने दिया बेला–बेलामा विभिन्न विषयमा आफ्नो धारणा राखिरहन्छिन्।

उनै दियाले पलपल इन्डियासँगको कुराकानीमा बलिउडमा बुढा हिरोहरुले जानेर बुझेर नै आफूभन्दा कम उमेरका अभिनेत्रीका साथ काम गर्ने गरेको बताएकी छन्। ‘बलिउडमा पुरुषवादी चरित्रको वर्चश्व रहेको छ। बुढा अभिनेताहरु जवान अभिनेत्रीको अपोजिट काम गर्न रुचाउँछन्। अजिव कुरा त यो हो कि ५० भन्दा माथिका बुढा हिरोहरु १९ वर्षका अभिनेत्रीका साथकाम गरिरहेका हुन्छन्।’ –दियाले भनेकी छिन्।

आफ्नो विचार खुलेर राख्ने अभिनेत्रीका रूपमा चिनिएकी दियाले बलिउडमा उमेरदार पुरुषहरु फिल्ममा लिड रोलमा देखिए पनि सोही उमेरका महिला कलाकारमा भने यस्तो नियम लागू नभएको बताउँछिन्। बलिउडमा पुरुष कलाकारका लागि धेरै कहानी भए पनि महिलालाई प्रमुखतामा राखेर निकै कम फिल्म बन्ने दियाको भोगाइ छ। ‘बलिउड फिल्ममा अभिनेत्रीको सुन्दरताको मापन उसको उमेरलाई लिएर गरिन्छ। यही कारण सँगै काम गरेका हिरोइनहरुले लिड रोल पाउन छाडे पनि अभिनेताहरु भने लामो समयसम्म प्रमुख रोलमै खेलिरहेको देखिन्छन्।’ –दियाको भनाइ छ।

पछिल्लो समय तापसी पन्नुको फिल्म थप्पडमा देखिएकी दिया हाल तेलुगु फिल्म वाइल्ड डगको काममा व्यस्त छिन्।