नेपालगन्ज कारागारबाट भागेका कैदी बर्दियामा समातिए

0
Shares

बाँके, (नेस) ।

नेपालगन्ज कारागारबाट भागेका कैदी बर्दियामा समातिएका छन् ।

आँखा जचाउनका लागि प्रहरीसँगै निस्केका नेपालगन्जका कारागारका चौकीदार पवन पुनः फरार भएका थिए । रातभरि नै सर्च अभियानमा लागेको बाँके प्रहरीले कैदी पुनलाई बर्दियाको ओराली बजारबाट बिहान ६ बजे नियन्त्रणमा लिएको छ । शुक्रबार अपराह्न पुनः फरार भएका थिए ।

सुर्खेत छिन्चुका पुन मानव बेचबिखन मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति हुन् । उनले दश वर्ष सजाय भोगिसकेका थिए । आधा सजाय भोगिसकेकाले उनले कारागारमा चौकीदारको सुविधा पाएका थिए । कारागारका चौकीदार बाहिर–भित्र गर्न पाउँछन् ।

जेलर देवेन्द्र श्रेष्ठका अनुसार आँखा जचाउन भन्दै निस्केका पवनसँगै प्रहरी पनि थिए । प्रहरीको आँखा छलेर ऊ भाग्न सफल भएको थियो । चौकीदार भएबापत पाएको सुविधाको दुरुपयोग गरेर भागेकाले पवनलाई थप सजाय हुन्छ । अहिलेसम्म उसले पाएको सुविधा कट्छ ।
बाँके प्रहरीले पवनसँग बयान लिन शुरु गरेको छ । उसलाई कसैले भगाएको हो वा आफै भागेका हुन् त्यसबारेमा अनुसन्धान शुरु भएको छ । बाँके प्रहरीले कारागारको प्रहरी युनिट नै परिवर्तनको तयारी गरेको छ ।

नेपालगन्ज कारागारमा अहिले ७ सय ८७ जना कैदी बन्दी छन् । कारागारमा नाइकेहरु धेरै भए पनि चौकीदार एकजना मात्रै हुन्छ । चौकीदार बन्न पाउनुलाई कारागारमा ठूलो लाभको पद मान्ने गरिन्छ । कैदी भागेपछि जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । छानबिन टोली कारागारमा पुगिसकेको छैन ।

नेपालगन्ज कारागारबाट यसअघि पनि नाइके सैफु नाउ भागेका थिए । उनलाई केही दिनपछि बर्दियाको कालिकाबाट पक्राउ गरिएको थियो । यसैबीच, बाँके प्रहरीले ४४ ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो र जिप्रको टोलीले कोहलपुर नगरपालिका वडा नं. १२ बस्ने ४५ वर्षका इन्द्रमणि गौतमलाई ४४ ग्राम ५ सय २० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जनाएको छ ।

बाँके प्रहरीका अनुसार, कोहलपुरको एनटिभीरोडमा लागूऔषध ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा ब्युरो र जिप्रका टोली पुगेको थियो । प्रहरीले गौतमलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनले लगाएको पाइन्टको गोजीमा लागूऔषध ब्राउनसुगर बरामद भएको प्रहरीको भनाइ छ ।

गौतम यसअघि जाजरकोटमा चरेससहित पक्राउ परेर १८ महिना कैद भुक्तान गरेर छुटेको बुझिएको छ ।