कोरोना परीक्षण गर्नेको संख्या घट्यो

0
Shares

काठमाडौं, (नेस) ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको रिपोर्टअनुसार ४ हजार ७ सय ८० जनाको पीसीआर परीक्षण हुँदा ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चिसो मौसम बढेसँगै रुघाखोकी, ज्वरो, ज्यान दुख्ने, करकरी खाने, टाउको दुख्ने समस्याका बिरामी घरघरमा बढेका भए पनि पीसीआर परीक्षणका लागि स्वास्थ्य संस्थामा जानुभन्दा नजिकैको औषधी पसल तथा हेल्थपोस्टमा गएर औषधी लिनेको संख्या बढेको स्वास्थ्य अधिकारीहरु बताउँछन् ।

यति बेला कोरोनाको संकेत देखिए या रुघाखोकी, ज्वरोको संकेत देखिनासाथै अधिकांश बिरामीले चिकित्सकको सिफारिसबिना नै भिटामीन बी, सी, डी, ई, सिटामोल, जिंक चक्की, भिक्सजस्ता औषधीहरु खरिद गरेर लैजाने गरेको टेकुका एक औषधी पसले बताउँछन् । उनका अनुसार यसरी औषधी खरिद गर्न आउनेको संख्या दिनमा ३० देखि ५० सम्म हुन्छ । तर औषधीको प्रयोग विधि र साइड इफेक्ट भने खरिदकर्तालाई थाहा नहुने भएकाले आफैले बताएर पठाउने गरेको औषधी विक्रेताको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ । यसै गरी २४ घण्टामा १ हजार १ सय ७५ संक्रमित कोरोनामुक्त भएका छन् । कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४२ हजार ५ सय ६७ पुगेको छ । यो संख्यालाई हेर्दा नेपालमा अहिले १० हजार ६ सय १७ जना सक्रिय संक्रमित छन् । यसमा पनि १ हजार ७ सय ७७ जनाको मृत्यु भइसकेको छ । सरकारको तथ्यांकअनुसार ८ हजार ८ सय ४० जना मात्र नेपालमा कोरोना संक्रमित छन्?

मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सरकारले टोल टोलमा कोरोना संक्रमितको तथ्यांक संकलनका लागि समूह बनाएर परिचालन गरिसकेको स्वास्थ्य मन्त्रालयको भनाइ अहिलेसम्म कुन टोल र समाजमा कुन निकायका कति व्यक्ति खटिए र तथ्यांक कस्तो ल्याए भन्ने जानकारी भने मन्त्रालयसँग छैन । मन्त्रालयको माइनटमा खटिएका तथ्यांक संकलकको जिम्मेवारी कुन निकायमार्फत रेकर्ड हुने हो भन्नेबारेमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरु अहिलेसम्म अनभिज्ञ छन् ।