बन्ध्याकरण शिविरबाट सय बढीले लिए सेवा

0
Shares

नेपाल समाचारपत्र, बैतडी ।

बैतडीका विभिन्न स्थानमा सञ्चालन गरिएको परिवार नियोजन स्थायी बन्ध्याकरण शिविरमा १ सय बढीले सेवा लिएका छन् । जसमा ९० जना महिला र २८ जना पुरुष रहेका छन् ।

मंसिर ९ गतेदेखि सञ्चालन भएको उक्त शिविर जिल्लाको सिगास गाउँपालिकाबाहेकका अन्य १३ स्थानमा सञ्चालन भएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरीशप्रसाद भट्टले जानकारी दिनुभयो । उक्त शिविरमा मिनिल्याप, भ्यासेक्टोमी, आईयूसीडी र इम्प्लान्ट सेवा दिइएको थियो । जसमा ६५ महिलाले मिनिल्याप, २८ पुरुषले भ्यासेक्टोमी, २४ महिलाले इम्प्लान्ट र १ महिलाले आईयूसीडी सेवा लिएको उहाँले बताउनुभयो । स्वास्थ्य कार्यालय बैतडीको आयोजना र सुनौलो परिवार नेपालको सहयोगमा उक्त कार्यक्रम भएको हो ।

सन्तानको रहर पुगेका दम्पतीलाई परिवार नियोजन गराउने र जनसंख्या व्यवस्थापन गराउने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । कोभिड–१९ का कारण स्वास्थ्यका मापदण्ड पालना गरी १ दिनमा बढीमा १५ जनाको बन्ध्याकरण गरिएको थियो ।