पत्रकारिता क्षेत्रको समस्या समाधान गर्न मन्त्रालय तयार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रालयलले पत्रकार दुर्घटना बीमा, जेष्ठ पत्रकार सम्मान वृत्तिलगायत श्रमजीवी पत्रकारको हितमा देखिने गरी काम गर्न लागेको बताउनुभएको छ ।

महासंघमा बुधबार भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो । उहाँले पत्रकारिता क्षेत्रमा रहेका समस्या समाधान गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघले सञ्चार क्षेत्रमा रहेका नीतिगत समस्या तथा पत्रकारले भोगिरहेका समस्याका बारेमा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङलाई अवगत गराएको छ । उहाँले सञ्चार क्षेत्रसँग सम्बन्धित नीति निर्माण गर्दा नेपाल पत्रकार महासंघलगायत सरोकारवालासँग छलफल र सुझावका आधारमा निर्माण गरिने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघको पृष्ठभूमिबारे मन्त्री गुरुङलाई संक्षिप्त जानकारी गराउनुभयो । उहाँले तीनै तहबाट बन्ने सञ्चारसम्बन्धी ऐन, कानुन प्रेसमैत्री बनाउन ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष आचार्यले कोरोना भाइरस महामारीका कारण पत्रकारिता क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न, पत्रकार दुर्घटना बीमालाई स्वास्थ्य बीमामा रुपान्तरण गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराउनुभयो ।

प्रेस काउिन्सलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले कोरोनाबाट प्रभावित थोरै संख्यामा भए पनि पत्रकारलाई विभिन्न शीर्षकमार्फत राहत दिन लागेको बताउनुभयो । महासंघका सल्लाहकार तीर्थ कोइरालाले सञ्चार क्षेत्रमा लगानी पारदर्शी हुनुपर्ने भन्दै सञ्चारमाध्यम स्थापना हुँदै कम्तीमा दुई वर्षसम्म चल्ने आर्थिक सुनिश्चितता हुनुपर्ने बताउनुभयो ।

प्रेस संगठनका संयोजक महेश्वर दाहालले कोरोनाको बहानामा श्रमजीवी पत्रकार र कर्मचारीलाई तलब नदिने, सञ्चारगृहबाट निष्कासन गर्ने कार्य भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष ईश्वरीप्रसाद ओझाले जिल्ला हुलाकमार्फत केन्द्रबाट दिइँदै आएको पत्रकारिता क्षेत्रको सबै सेवाहरु विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले सञ्चारसम्बन्धी कानुन बनाउँदा सरोकारवालाको छलफल गरी निर्माण गर्न आग्रह गर्नुभयो ।

सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले उपत्यकाबाहिरबाट राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने पत्रकारले नियमित पारिश्रमिक नपाएको गुनासो आएको बताउँदै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । आदिवासी जनजाति पत्रकार महासंघका महासचिव मनोज घर्तीले सञ्चारक्षेत्रमा समावेशिता नभएको बन्दै संविधानको मर्मअनुसार समावेशीकरण हुनुपर्ने धारणा राख्नुभयो ।

वरिष्ठ पत्रकार हरि लम्सालले ३० वर्ष निरन्तर क्रियाशील पत्रकार र ६० वर्ष पुगेका पत्रकारको जीवन निर्वाह गर्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने बताउनुभयो ।