काठमाडौं, (नेस) ।
राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारको ढोकैमा बसेर निजामती कर्मचारीले तोकिएको पोसाक लगाएको वा नलाएको चेकजाँच गर्न शुरु गरेको छ ।
निजामती कर्मचारीले पोसाक भत्ताबापतको रकम लिने र कार्यालयमा पोसाक नलगाउने गरेको सन्दर्भमा पोसाक जाँच गरिएको केन्द्रले जनाएको छ । ‘अधिकांश कर्मचारीले पोसाक नलगाएको पाइएपछि सचेत गराउन चेकजाँच गरेको हो।’ –केन्द्रका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णप्रसाद अधिकारीले भन्नुभयो ।
केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीले तोकिएको पोसाक नलगाएको भन्दै चेकजाँच गरेको थियो । केन्द्रले बुधबार सिंहदरबारको पूर्वी ढोकामा कर्मचारीहरुले पोसाक लगाए नलगाएको सम्बन्धमा चेकजाँच गरेको थियो । सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार बिहान ९ बजेदेखि नै चेकजाँच गरिनेछ ।
बुधबार सिंहदरबारभित्र काम गर्ने कर्मचारी र बाहिरबाट काम लिएर आउने कर्मचारी सबैले पोसाक लगाए नलगाएको जाँच गरिएको थियो । जाँचका क्रममा अधिकांश कर्मचारीले पोसाक नलगाएको पाइएको थियो । पोसाक नलगाउने कर्मचारीलाई सचेत गराई प्रवेश गर्न दिइएको पनि डीएसपी अधिकारीले बताउनुभयो । अबदेखि नियमितरुपमा छड्के जाँच गरिने पनि केन्द्रले जनाएको छ ।











प्रतिक्रिया